२८ श्रावण २०७८, बिहीबार
  • सन्तोष पौडेल,

खोटाङ । कोभिड–१९ को सङ्क्रमण दर बढ्न थालेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई भदौ १ गतेबाट पूर्ण रुपमा बन्द गरिने भएको छ । दैनिकजसो गरिएको परीक्षणका क्रममा सङ्क्रमण दर दिनानुदिन बढ्दै गएपछि १५ वडा रहेको नगरपालिकालाई १० दिन बन्द गर्ने तयारी गरिएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा सञ्चालित हाटबजार, होटल तथा पसल, सरकारी तथा गैंरसरकारी कार्यालय लगायतमा भीडभाड बढेको र सङ्क्रमण दरसमेत वृद्धि भइरहेको पाइएकाले नियन्त्रण गर्न बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।

“सङ्क्रमित व्यक्ति तथा क्षेत्रसँगको सिधा सम्पर्कका कारण पनि नगरमा सङ्क्रमण फैलिएको अनुमान गरिएको छ”, उनले भने, “दिनानुदिन वृद्धि हुँदै गएको कोरोना सङ्क्रमण दर कम गर्न नगरपालिकाको सबै वडा पहिलो चरणमा दश दिन पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको हो ।”

बन्दका क्रममा आवश्यक पर्ने खाद्यान्न, तरकारी, औषधि, ग्याँस लगायतका दैनिक उपभोग्यवस्तु तथा सामग्रीको त्यस अगावै व्यवस्था मिलाउन नगरबासीलाई आग्रह गरिएको छ । दैनिकजसो सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्लास्थित राजनीतिक दल, प्रशासन, सुरक्षा निकाय, पत्रकार, उद्योग व्यवसायी, यातायात व्यवसायी, होटल व्यवसायी, टोल सुधार समिति लगायतको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

नगरपालिकामा पछिल्लो समय सक्रिय सङ्क्रमितको सङ्ख्या १५६ जना रहेको नगर स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन (सहजकर्ता) दिक्षिका शाक्यले जानकारी दिए । सहजकर्ता शाक्यका अनुसार हालसम्म एक हजार २०८ जनामा सङ्क्रमण देखिएको यस नगरपालिकामा सात जनाले ज्यान गुमाइ सकेका छन् ।

दश स्थानीय तह रहेको जिल्लामा गत वैशाख यता दुई हजार ६१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको यस जिल्लामा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३३६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए ।

अहिलेसम्म निषेधाज्ञा लागू नगरिएको यस जिल्लामा ११ जनाले ज्यान गुमाइ सकेका छन् । नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ठूला शहर तथा तराईका जिल्लामा ५०० र पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित भएमा तत्काल निषेधाज्ञा लागू गर्न भनेको छ ।

जिल्लाभर नै कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पछिल्लो समय पुनः ‘तपाईको मास्क खोइ ?’ अभियान शुरु गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्लाका दशवटै स्थानीय तहमा अभियान शुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV