२७ श्रावण २०७८, बुधबार

काठमाडौं । संसदीय समितिले सूचना र प्रविधिको पहुँच विस्तारका कार्यक्रमहरू प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समिति बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको कार्यप्रगति र आगामी कार्ययोजनाबारे जानकारी लिँदै सूचना र प्रविधिको पहुँच विस्तारका कार्यक्रमहरुलाई थप प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न निर्देशन दिएको समिति सभापति कल्याणी खड्काले जानकारी दिइन् ।

बैठकले सबै स्थानीय तहका वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य केन्द्रहरूमा इन्टरनेट सेवा तत्काल पु¥याउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत सरकारलाई निर्देशन दिने निर्णय गरेको सभापति खड्काले बताइन् ।

त्यस्तै उनले भर्चुअल बैठक सञ्चालन सम्बन्धी नीतिगत तथा कानुनी व्यवस्था गर्न र सम्पूर्ण सरकारी कार्यालयहरूलाई डिजिटाइज गर्ने प्रक्रिया तत्काल अघि बढाउन समेत सञ्चारमन्त्रालयलाई निर्देशन दिएको उनले बताइन् ।

त्यस्तै मोबाइलबाट हुने अवैध कार्य रोक्ने प्रणाली व्यवस्थित गर्न पनि समितिले निर्देशन दिएको छ भने हुलाक सेवालाई प्रभावकारी बनाउन पनि निर्देशन दिइएको सभापति खड्काले जानकारी दिइन् ।

बैठकमा सञ्चार मन्त्रालयका निमित्त सचिव डिल्लीराम शर्माले सूचना र प्रविधिको क्षेत्रमा देखिएका समस्याहरूलाई सम्बोधन गर्न आवश्यक कानून संशोधन गरिएको र सदनमा पेश गरिएको जानकारी दिइन् । सूचना र प्रविधिको क्षेत्रलाई सुधार गर्न सरकार गम्भीर रहेको उनले बताइन् ।

बैठकमा समिति सदस्यहरुले मुलुकका सबै क्षेत्रमा सूचना प्रविधिको समान पहुँच पु¥याउन र निजि क्षेत्रसंग प्रतिस्पर्धा गर्ने गरि सेवाको गुणस्तर बढाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV