२६ श्रावण २०७८, मंगलवार

काठमाडौँ । राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले कांग्रेस दयनीय स्थितिमा पुगेको र माओवादी वैशाखी खोजिरहेको बताएका छन् । कांग्रेस अहिले सत्तामा भए पनि कुहिराको काग भएको उनको भनाइ थियो ।

नेकपा एमालेबाट सांसद बनेका भट्टराईले मंगलबार राष्ट्रिय सभामा बोल्दै उक्त टिप्पणी गरेका हुन् । विचारधाराको हिसाबले कांग्रेस निकै कमजोर र दयनीय रहेको टिप्पणी गर्दै उनले भने, ‘अहिले सत्तामा रहेर बलियो भएको हो कि भन्ने लाग्न सक्छ, तर विचार मरिसक्यो । बिपी सँगसँगै उसको नीति पनि सकिएको छ ।’  उनले दिनदहाडै नेपाली युवाहरु महाकालीमा फालिँदा पनि कांग्रेस बोल्न नसकेको बताए ।

नेकपा माओवादी केन्द्र पनि अहिले अर्काको सहारा खोजिरहेको उनको टिप्पणी थियो । ‘माओवादी अहिले वैशाखीको खोजीमा छ । कहिले एमालेको पछि त कहिले कांग्रेसको पछि लागेर ऊ आफ्नो अस्तित्वको रक्षा गर्दैछ,’ उनले भने ।

कांग्रेस-माअाेवादीप्रति नै आक्रामक अभिव्यक्ति दिएका भट्टराइले आफ्नो पार्टी एमालेका अध्यक्ष केपी ओली मात्रै असल राजनेता ठहरिएको उनको दाबी थियो । उनले संसदमा पनि ओलीकै चर्चा हुने गरेकाे बताए । ‘राजनेता भनेको के हो भन्ने लाग्न सक्छ,’ उनले भने, ‘राजनेता उही हाे, जसको वरिपरि राजनीति घुमिरहेको हुन्छ । केपी ओली बालुवाटार छाडेर बालकोट जानुभएको छ । तर, सदनमा आउँदा उहाँकै चर्चा सुनिन्छ । सरकार बन्न सकेकाे छैन, यसको पछाडि पनि केपी ओलीकै फोबिया छ कि जस्तो लाग्छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV