२५ श्रावण २०७८, सोमबार

काठमाडौं । नेकपा (एमाले)ले पार्टीको आसन्न विधान अधिवेशनमा प्रस्तुत गरिने संशोधित विधान पारित गरेको छ । ललितपुरमा सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय सदस्यहरु मात्र चुन्ने गरी विधान संशोधन प्रस्ताव पारित गरेको हो ।

बैठकले विधान संशोधन प्रस्ताव तल्लो कमिटीसम्म छलफलमा लैजाने र आसन्न विधान महाधिवेशनमा लैजाने निर्णय समेत गरेको छ । पारित विधानमा केन्द्रीय कमिटीको अध्यक्ष र केन्द्रीय सदस्यहरू महाधिवेशन हलबाट तथा केन्द्रीय पदाधिकारीहरू केन्द्रीय कमिटीबाट निर्वाचित गर्ने प्रावधान राखिएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए ।

विधान संशोधन समितिले अध्यक्ष र महासचिव मात्रै निर्वाचित गर्नुपर्ने प्रस्तावलाई केन्द्रीय कमिटीले परिमार्जन गर्दै अध्यक्ष मात्रै निर्वाचित हुने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेको एमाले प्रवक्ता ज्ञवालीले बताए ।

महाधिवेशनबाट अध्यक्ष र केन्द्रीय कमिटी निर्वाचित हुने र बाँकी पदाधिकारीहरु केन्द्रीय कमिटीले निर्वाचित गर्ने प्रस्ताव गरिएको छ । प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीहरुमा पनि अध्यक्ष निर्वाचित हुने र बाँकी पदाधिकारी सम्बन्धित निर्वाचित कमिटीले निर्वाचित गर्ने प्रस्ताव गरिएकोज्ञवालीले बताए ।

त्यस्तै केन्द्रीय किमटीको संख्या २२५ बनाउनुपर्ने प्रस्ताव एमालले अघि सारेको छ । यी प्रस्तावहरु तल्लो कमिटीमा छलफलका लागि पठाइने र त्यहाँबाट आएका सुझावलाई विधान महाधिवेशनमा पेश गरिने प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

एमालेले आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा चार वटा प्रतिवेदन पेस गर्न मस्यौदा समिति गठन गरेको उनले बताए । प्रवक्ता ज्ञवालीले असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाललगायत नेताहरूलाई पार्टी गतिविधिमा फर्कन जतिबेला पनि ढोका खुला रहेको तर, पार्टीका नियमित गतिविधिलाई अनन्तकालसम्म रोकेर पर्खन नसकिने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV