२५ श्रावण २०७८, सोमबार

काठमाडौं । १३औं संस्करणको साफ च्याम्पियनसीप फुटबल प्रतियोगिता माल्दिभ्समा हुने भएको छ । साफ कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसीप अक्टोबर १ देखि १३ (असोज १५-२७) सम्म माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।

साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरेका थिए । दुवै प्रस्तावलाई रिभ्यू गरेपछि माल्दिभ्सलाई आयोजक घोषणा गरिएको एन्फाले जनाएको छ । यसअघि बंगलादेशमा साफ गर्ने तय भएपनि कोभिड-१९ का कारण उसले हात झिकेको थियो ।

पछिल्लो पटक सन् २००८ मा माल्दिभ्स र श्रीलंकाले संयुक्त रुपमा साफ आयोजना गरेका थिए । नेपालमा यसअघि सन् १९९७ र २०१३ मा साफ आयोजना भएको थियो । यस पटक साफमा ५ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै भूटानले पनि सहभागिताबारे ३ दिनमा निर्णय गर्ने जनाएको छ । अहिलेसम्म नेपाल, माल्दिभ्स, भारत, बंगलादेश र श्रीलंकाले खेल्ने पक्का भएको छ । फिफाको प्रतिवन्धमा रहेकाले पाकिस्तान भने साफमा सहभागी हुने छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV