२५ श्रावण २०७८, सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा नेपाल चिकित्सक संघको Women in Medicine in Nepal कार्यक्रम सम्पन्न भएको छ ।

सोही कार्यक्रममार्फत् राष्ट्रकै शीर उच्च पार्ने कार्यमा संलग्न महिला चिकित्सकहरुको छनौट गर्नका लागि नेपाल चिकित्सक संघले संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह के.सी.को संयोजकत्वमा ३ सदस्यीय छनौट समिति गठन गरिएको छ ।

यो कार्यक्रम राष्ट्रिय एवं अन्तर्राष्ट्रिय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका क्षेत्रमा अतुलनीय योगदान पु-याइरहेका नेपाली महिला चिकित्सकहरुको सम्मानको परम्परा स्थापित गर्ने प्रयोजनका साथ स्थापना गरिएको कार्यक्रम हो ।

यस कार्यक्रमले विशेषतः भावी पुस्ताका लागि एउटा सार्वजनिक फोरमको स्थापना गरेर नयाँ पुस्ताका चिकित्सकहरुका लागि तालिम, सेमिनार तथा वर्कसपमार्फत चिकित्सकहरुको अनुभव, ज्ञान र मार्गनिर्देशलाई व्यवहारमा परिणत गर्ने उद्देश्य लिएको छ ।

नेपाल चिकित्सक संघको यो पहिलो प्रयास भएको बताइएको छ । संघले यसलाई क्यालेण्डर इभेन्टको रुपमा स्थापित गरी प्रत्येक वर्ष कार्यक्रमको आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।

संघका केन्द्रीय सदस्य प्रा.डा. नन्दा कुमारी गुरुङको संयोजकत्वमा ५ सदस्यीय उपसमिति समेत घोषणा गरिएको विज्ञप्तीमार्फत जानकारी गराइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV