२५ श्रावण २०७८, सोमबार

दार्चुला । गत साउन १५ गते महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामीको बारेमा छानविन गर्न गठित टोलीले अनुसन्धानको क्रमलाई लगभग टुंग्याएको छ । सरकारले गत साउन १७ गते गठन भएको छानविन समितिले अबको चार दिनभित्र प्रतिवेदन सरकारसमक्ष बुझाउने तयारीका लागि अनुसन्धानलाई अन्तिम अवस्थामा पुर्याएको हो ।

छानविन टोली अहिले दार्चुला सदरमुकाम खलंगामा छ । घटनासंग सम्बन्धित सबै ठाउँमा पुगेर फर्किएको टोलीले अब प्रतिवेदन तयार गर्दा थप बुझ्नुपर्ने आवश्यक व्यक्तिहरुसंग पनि परामर्श गर्ने छ । गठन भएको भोलिपल्ट अर्थात् साउन १८ गते दार्चुला पुगेको छानविन टोलीले पीडितको गाउँ र घर, प्रत्यक्षदर्शी, भारतीय सीमासुरक्षा बल एसएसबी, स्थानीय सञ्चारकर्मी, स्थानीय राजनीतिकर्मीसंग पनि परामर्श गरेको छ ।

अहिलेसम्म भएका र देखिएका सबै कुरा सार्वजनिक गर्न नमिल्ने बताएको छानविन टोलीले प्रतिवेदनमा नछुटाएर सबै कुरा उल्लेख गरिने दावी गरेको छ । यद्यपि घटनाका प्रत्यक्षदर्शीलाई प्रहरीको कडा निगरानीमा राख्नु, कसैलाई पनि भेट्न नदिनु र छानविन सुरु गर्दा नेपालको भूमिबाट नभई भारतीय भूमिको प्रयोग गर्नुजस्ता कार्यले छानविनमाथि स्थानीयवासीमा आशंका उत्पन्न गराएको छ ।

तर यस छानविन टोलीले दिने प्रतिवेदनले दार्चुलाको यो घटनाको मात्र नभई आम सीमावासी नेपालीले भोग्दै आएको अत्याचारको समेत प्रतिनिधित्व गर्ने भएकाले आम नेपालीले यो प्रतिवेदनलाई अति महत्वका साथ हेरेका छन् । सीमामा जयसिंह धामी जस्तै नियति भोगेका धेरै नेपाली छन् । त्यसैले पनि तुइनको डोरीलाई दोष देखाएर नेपालको स्वाभिमान महाकालीमा बग्न दिन नहुने आवाज पनि छानबिनसँगै उठ्न थालेका छन् ।

छानविन समितिले छलफल सक्यो

गृहमन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतमको नेतृत्वमा गठित छानविन समितिले जयसिंह धामी बेपत्ता प्रकरणमा सूक्ष्म ढङ्गले अध्ययन गरेरै प्रतिवेदन ल्याउने प्रतिबद्धता जनाएको छ । सुदूरपश्चिम प्रदेशका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट सदस्य रहेको छानविन समितिले दार्चुला पुगेको पहिलो दिन घटनाको बारेमा प्रारम्भिक जानकारी लिएको थियो ।

त्यसपछि प्रत्यक्षदर्शीसंग कुराकानी गरेको थियो भने जिल्लाका सञ्चारकर्मी र क्रियाशील राजनीतिक दलका नेताहरुसंग पनि छलफल गरेको थियो । त्यस्तै भारतको बाटो भएर घटनास्थल गस्कु मालघाट पुगेको थियो ।

महाकाली नदीमा खसेर वेपत्ता भएका जयसिंह धामीको घर व्यास व्यास गाउँपालिकामा पुगेर पीडित परिवारसँगै व्यास गाउँपालिकाका जनप्रतिनिधिसंग समेत छलफल समेत गरेकोे थियो । यस्का लागि छानविन टोलीले हेलिकप्टरको सहयोग लिएको थियो । सदरमुकामदेखि वेपत्ता धामीको घर पुग्न पूरै एक दिन लाग्ने भएकोले हेलिकप्टरको सहयोग लिएको छानविन टोलीको भनाइ छ । समितिले भारतीय एसएसबी र स्थानीयवासीले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिएको छ ।

स्थानीयवासीले किन गरे नाराबाजी ?

दार्चुलाको व्यास गाउँपालिका–२ बाट भारतको बाटो भएर सदरमुकाम जान खोज्दा एसएसबीले तुइनको लठ्ठा फुस्काइदिए पछि ३३ वर्षीय जयसिंह धामी महाकालीमा वेपत्ता भएका थिए । गत साउन १५ गते घटेको यो घटनामा भारतीय पक्षले भने एसएसबीले तुइनको तार नकाटेको र नफुकालेको दावी गर्दै आएको छ ।

यता नेपालतिरबाट छानबिन समिति नआएर भारतीय बाटो प्रयोग गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी कार्यकर्ता र स्थानीयवासीले तुइन भएकै क्षेत्रमा पुगेर छानविन समितिविरुद्ध नाराबाजी गरे । घटना घटाउने एसएसबीसंगै गएर अनुसन्धान गर्नुको औचित्य नभएको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । आफ्नो तर्फबाट बाटो बनाउन नसक्ने सरकारले छानबिन गर्न पठाएको समिति पनि भारतीय एसएसबीको निगरानीमा पठाएपछि कस्तो प्रतिवेदन आउला ? भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका थिए ।

प्रत्यक्षदर्शी प्रहरीको कडा निगरानीमा

जयसिंह धामीको घटनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रङ्कोली र अनिता धामीलाई प्रहरीले नेपालकै बाटो भएर गाउँ पुर्याएको थियो । गत साउन १८ गते सोधपुछका लागि प्रहरीको निगरानीमा सदरमुकमा खलङ्गा ल्याइएका तीनै जनालाई सोधपुछपछि गाउँ पुर्याइएको हो ।

खलङ्गामा रहँदा उनीहरुसँग भेट गर्न पत्रकार मानवअधिकारकर्मीलाई समेत रोक लगाइएको थियो ।सोधपुछ सकिएपछि राति अबेर आफन्तको जिम्मा लगाएर तीनै जनालाई भोलिपल्ट बिहान ५ बजे खलङ्गाबाट गाउँ पठाइएको थियो । उनीहरुलाई बाटोमा गाउँका स्थानीयवासी गए पनि उनीहरुसँग सम्पर्क गर्न दिइएन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV