२५ श्रावण २०७८, सोमबार

काठमाडौं । महाकालीमा बगेको नेपाली स्वाभिमानको सत्य खोज्न छानविन टोली दार्चुलामा छ । कस्तो आउला छानविनको सत्यतथ्य पाटोहरु ? त्यसमा बगेका जयसिंह धामी मात्र नभई लाखौं सीमावासी नेपालीले भोग्दै आएको नियति पनि पक्कै जोडिने छ ।

दुखेको त्यही दार्चुला हो, जहाँ यसअघि पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा बनेर दुखीसकेको छ । देशका प्रधानमन्त्रीहरुको गफलाई पत्याउने हो भने तुइन नेपालबाट उहिल्यै विस्थापित भइसकेको हो । तर त्यो सिंहदरबारभित्र कोरिने कागजमा मात्र रहेछ । यसपटक जयसिंह बगेपछि सिंहदरबारले पनि पक्कै थाहा पायो होला यो सत्य । नेपाली जनता तुईनमा कसरी झुण्डिरहेका रहेछन् र कसरी बगिरहेका रहेछन भन्ने ।

यता वर्तमान सरकारले न्यूनतम साझा कार्यक्रम प्रस्तुत गर्दै कालापानी, लिपुलेक र लिम्पियाधुराको समाधान हुन बाँकी समस्याको बारेमा भारतसँग छलफल गर्ने दृढता देखाएको छ । सबैले मिलेर संसदमा थपडी नै बजाएर सामूहिक हुँकार व्यक्त गरेकै हो, कालपानीको कथामा । तर, छिमेकीको व्यवहार अझै उस्तै भएको तर्फ नेपालका दलहरुले नजर लगाउन पनि आवश्यक छ ।

अघिल्लो सरकारले समानताको आधारमा सम्बन्ध भनेर भारतसँग हेरक विषयमा समानता खोजेकै हो । तर भयो के ? गुमेको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको पुस्तक होइन चुच्चे नक्सा नै गायब भयो । नेपालको नयाँ नक्सा छातीमा सजाईसकेकाहरुको पनि बरु अपमान नै भयो ।

अब त्यस्तो नहोस् । कुरा गर्ने हो खुट्टा नकमाउ । मुलुक र जनतालाई बारम्बार धोका हुने गरि खोक्रो राष्ट्रवादको नारा नलगाउ । सञ्जय गौतम सीमामा ढलेको धेरै भएको छैन त्यसमाथि जयसिंह धामी बगेको चोट पखालिन मान्दैन हम्मेसी अब । गुमेको त्यो भूमि फिर्ता ल्याउनै पर्छ तर त्यसभन्दा अघि देश भित्रैबाट हराएको त्यो चुच्चे नक्सा भएको किताबलाई हरेक विद्यार्थीको हातमा पुर्याउनै पर्छ, हरेक विद्यालयमा अनिवार्य गराउनै पर्छ ।

चुच्चे नक्सा भएको नेपालको मानचित्र सरकारी कार्यालयदेखि हरेक ठाउँमा टाँस्ने पर्छ । त्यो नक्सासंग अपनत्व गाँसिन नपाउँदै र मायाले अंगालो मार्न नपाउँदै नक्सा मेटिन दिनु हुँदैन, च्यातिनु र मासिन दिनु हुँदैन ।

यता सरकारले न्यूनतम साझा कार्यक्रममा सजाएको अर्को गतिलो कार्यक्रम चुरेको संरक्षण पनि हो । अघिल्लो सरकारले भारतसंगको व्यापारघाटा कम गर्ने नाममा चुरे उत्खनन गरि उस्लाई गिट्टी, बालुवा र ढुंगा बेच्ने निर्णय गरेको थियो । केपी शर्मा ओली सरकारको त्यो निर्णयविरुद्ध त्यतिखेर प्रतिपक्षमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, उपेन्द्र यादवको जसपा र माधवकुमार नेपालको नेकपा एमाले चर्को विरोधमा उत्रिएका थिए ।

अहिले उनीहरु सरकारमा छन् । न्यूततम साझा कार्यक्रममा भारतको नाम नलिइकन मुनाफाका लागि प्राकृतिक स्रोत साधनको दोहन हुन नदिने उल्लेख गर्दै चुरे क्षेत्रको उत्खनन गरि ढुंगा, गिट्टी र वालुवा निर्यातलाई रोक लगाउने भनिएको छ । यसैले पनि ओली सरकारले भारतका लागि खोलेको चुरे क्षेत्र वर्तमान सरकारले बन्द गरिएको ठाडै बुझिन्छ । तर खुट्टा र ओठ नकमाई नामै किटेर भनिदिएको भए जनताले अझ प्रष्ट भाषामा बुझ्ने निश्चित थियो । यस्मा पनि सरकारले अझ बढी प्रष्ट पारेर जनता र मुलुकलाई ढुक्क हुने वातावरण बनाउँनै पर्छ ।

राष्ट्रिय मुद्दामा एकरुपता अर्थात एकढिक्का भए बलियो बन्ने राष्ट्रियता नै हो । सत्ताको रक्षार्थ छिमेकीहरुको स्वार्थलाई प्राथमिकता दिएर गरिने सन्धी सम्झौता र गोप्य सहमतिहरुले गुमाउने मुलुकले नै हो । सुगौली सन्धीदेखि गुमाएको नेपालले अब केही गुमाउनु हुन्न । दलहरुको साझा धारणा बन्न नसक्दा र सहमति हुन नसक्दा नेपालले नगुमाएको अवसर नै छैन । नेपाल कमजोर बन्दा छिमेकी मुलुक त्यसमाथि पनि भारतले अघि बढाउने उस्को स्वार्थको हात नै हो । यही कारण नेपालले कहिले हाम्रा नदीहरुलाई साझा भनिदिनु पर्छ । नेपालका सीमाका भूमिहरु सामरिक महत्वका नाममा उस्लाई सुम्पिनु पर्छ ।

नेपाली जनताले चाहेको दलहरुबीचको कार्यगत एकता नै हो । अहिले गठबन्धन एकातिर ओलीको एमाले अर्कोतिर झै भएको छ । तर राष्ट्रिय स्वाभिमानको मुद्दामा सबै दलले बस्नु पर्ने एउटै थलोमै हो । कम्तिमा पनि दलहरुको विकसित हुन नसकेको यो भावनाले दुःख पाउने नेपाली जनताले हो, चोट भोग्ने नेपाल आमाले नै हो ।

यता कोरोनाको उपद्रो देशभर बढ्दो छ । सरकारले न्यूनतम साझा कार्यक्रममा पनि कोरोनाको नियन्त्रण र यसबाट नेपाली जनतालाई सुरक्षित राख्ने दायित्वलाई नै मुख्य अभिभाराकोरुपमा समेटेको छ । खोप आउँदैछ धमाधम । खोप लगाइदैछ पनि धमाधम । तर हेरिनु पर्ने अस्पताल र जनस्वास्थ्य केन्द्रहरुमा हो । प्रदेश एकदेखि नै अस्पतालहरु भरिन थालिसके । काठमाडौंमा सरकारी अस्पतालहरुमा बेडको अभाव देखिन थालिसक्यो । दोस्रो लहर चल्दा गरेको गल्ती र कमजोरीले धेरै नेपालीले अनाहकमा ज्यान गुमाए ।

सरकारले नै तेस्रो लहरको संकेत दिदै सचेत बन्न आम नेपालीलाई आह्वान गरिसकेको अवस्थामा थप सक्रिय बन्नु पर्ने सरकारले नै हो । हरेक ठाउँमा सरकारको निगरानी पुग्नु पर्ने अवस्था आइसकेको छ । किनभने महामारीले एकैपटक मौका छोप्यो भने त्यतिखेर गुमाउनु भन्दा पर केही हुने छैन । त्यसैले सचेत बनौ, कोरोनाबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV