२४ श्रावण २०७८, आईतवार
  • भगिश्वर लिम्बू,

तेह्रथुम । तेह्रथुमको सदरमुकाम जोड्ने म्याङलुङ-बसन्तपुर सडक खण्ड वर्षाका कारण हिलाम्मे भएपछि यातायात सञ्चालन नहुदा बिरामीको थप उपचारका लागि महँगो भाडा तिरेर हेलिकप्टर चार्टर गर्नु पर्ने बाध्यता रहेको छ ।

तेह्रथुमको सदरमुकाम जोड्ने मुख्य सडक म्याङलुङ-बसन्तपुर सडक खण्ड हिलाम्मे भएपछि अहिले जिल्लाबासीहरु थप उपचारका लागि लाखौं खर्च गरेर हेलिकप्टर चार्टर गर्न बाध्य भएका हुन् ।

आज मात्रै मुटु र दम रोगबाट सिकिस्त भएका म्याङलुङ नगरपालिका-६ बस्ने ९५ वर्षीय नर प्रशाद लिम्बूलाई थप उपचारका लागि आफन्तले पौने ३ लाख सुल्क तिरेर हेलिकप्टरबाट काठमाडौं लगेका छन् ।

जिल्ला अस्पताल जाने सडक हिलाम्मे भएपछि सानासवारी साधन सञ्चालन नहुँदा आफन्तलाई बचाउनका लागि भएपनि लाखौं खर्च गरेर एयर एम्बुलेन्समा जिल्ला बाहिर लैजानु पर्ने बाध्यता रहेको बिरामीका आफन्त गणेश लिम्बूले बताए ।

लगातारको वर्षाले निर्माणाधीन बसन्तपुर-म्याङलुङ सडक खण्ड हिलाम्मे भएपछि पुनः जिल्लाबासीलाई यो सडकले सास्ती दिएको जिल्लाबासीले गुनासो छ् । सडकको अवस्था बिग्रिएपछि यसअघि पनि कोभिड संक्रमित म्याङलुङ-१ बस्ने ४२ वर्षीया रुकादेवी सुवेदीलाई मेडिकलसहितको टोलीसहित थप उपचारका लागि करिब ३ लाख ९० हजारमा हेलिकप्टरबाट काठमाडौं लगिएको थियो ।

१० सेन्टिमिटरको उच्च स्तरको कालोपत्रे गरिने राष्ट्रिय गौरबको आयोजना मध्यपहाडी लोकमार्गको बसन्तपुर-म्याङलुङ खण्ड अन्तर्गत जिल्लाको सदरमुकाम म्याङलुङ जोड्ने उक्त सडक दुई लेनको स्तरमा कालोपत्रे गर्नका लागि अर्थ मन्त्रालयबाट २ अर्ब ७ करोड रकम विनियोजन भएपनि कामको गति सुस्ताएपछि यो सडक अहिले ज्यान मारा सडक बनेको छ ।

जिल्लाबासीहरु अहिले सडककै कारण बिरामीलाई जिल्लाबाहिर उपचारका लागि लैजान नसक्दा र जोखिम मोलेर भएपनि जिल्ला बाहिर लैजादा केही बिरामीको बीच बाटैमा मृत्यु समेत हुने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV