२४ श्रावण २०७८, आईतवार

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले जमिनमा व्यक्तिगत स्वामित्व रहने व्यवस्था भएसम्म सुकुमबासी रहिरहने भएकाले व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्नुपर्ने बताएका छन् ।

आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै उपाध्यक्ष गौतमले सुकुमबासी समस्या समाधान गर्न व्यक्तिगत स्वामित्वमा जग्गा रहने व्यवस्था अन्त्य गर्न माग गरेका हुन् । सरकारले चलनचल्तीको भाउमा सबै जमिनलाई खरिद गर्नुपर्ने समेत उनले बताए ।

उपाध्यक्ष गौतमले भूमि सुधार लागू गर्न र अव्यवस्थित गरी बसेका भूमिहीन तथा सुकुमबासीको समस्या समाधान गर्नुपर्ने बताए । उनले भनेका छन्, ‘भूमिहीन सुकुमबासीको समस्या के हो ? जमिनमा व्यक्तिगत स्वामित्व रहने व्यवस्था भएसम्म सुकुमबासी बन्ने प्रक्रिया सुरु हुन्छ । त्यसैले त्यो अन्त्य गरौं ।’

त्यस्तै उनले घरबारविहीन २० लाखलाई दिने जग्गा नभएको दाबी गर्दै भनेका छन्, ‘हामीले जहिले जसरी पनि जमिन नै दिनुपर्छ भनेको छौं । २० लाख घरबारविहीन भएकाहरुलाई जमिन दिने जग्गा छैन । जमिन बाँडेर सुकुमबासी र भूमिहीन समस्या समाधान हुदैन ।’

त्यस्तै उनले जमिनमाथि व्यक्तिको स्वामित्व कायम भएसम्म यस्तो अवस्था भइरहने बताउँदै भने, ‘सरकारले सबै जमिन किनेर सरकारले आफ्नो बनाओस् । सरकारले अधिग्रहण गर्न सक्छ । सम्पत्ति मौलिक अधिकार भएकाले विकल्प दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV