२४ श्रावण २०७८, आईतवार

काठमाडाैँ । एनआरएनए यूके अध्यक्षमा प्रेम गाहामगर निर्वाचित भएका छन्। एनआरएनए यूकेमा पहिलोपटक भएको अनलाइन मतदानमा उनले अध्यक्षका अरु दुई प्रत्यासी दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई पराजित गरेका हुन्।

निर्वाचन समितिले शुक्रबार राती एक पत्रकार सम्मेलन गरी निर्वाचित कार्यसमिति घोषणा गरेको हो ।

जसअनुसार अध्यक्ष निर्वाचित गाहामगरले ४ हजार ५ सय ७४ मत पाएका छन् भने अन्य उम्मेद्वार श्रेष्ठ र प्रधानले क्रमश: २ हजार १ सय ९१ र २ हजार १ सय ४८ मत प्राप्त गरेका छन् ।

त्यसै गरी एनसीसी यूकेको २ उपाध्यक्षहरुमा सुनिलबाबु खड्का ४ हजार १ सय ६९ र गोविन्द खरेल ३ हजार ६ सय ६५ मतसहित विजयी भएका छन् ।

सोही पदका अन्य प्रत्यासीहरु पवन शर्माले २ हजार ३ सय ६४ , तेजेन्द्र रोकाले १ हजार ४ सय ३५ र अमन गौचनले ९ सय २५ मत पाए ।

महिला उपाध्यक्षमा शकुन्तला गुरुङ ३ हजार ७ सय ४३ ल्याएर विजयी भइन् । उनका दुई प्रतिस्पर्धी सरस्वती केसी २१५२ र प्रसुना कंडेलले २ हजार ४ सय ६९ मत प्राप्त गरे ।

नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा नारायण कंडेल ४ हजार ४ सय ९५ मत ल्याएर विजयी भए भने उनका प्रतिस्पर्धी नारायण कुँवरले २ हजार ७ सय ४८ मत पाए । एनसीसी उपाध्यक्षमा स्कटल्यान्डबाट मोहन कार्कीले ४ हजार ५ सय ९५ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी छबिलाल अर्यालले २ हजार ९ सय ९ मत पाए।

एनआरएनए यूके महासचिवमा खुशी लिम्बू ३ हजार ७ सय ४७ मतसहित विजयी भएका छन् । उनीसंगै प्रतिस्पर्धामा रहेका जीत रानाभाटले २ हजार ६ सय ३९ र डा मुकुन्द बांस्तोलाले २ हजार ३ सय २५ मत ल्याए ।

२ सचिवमा विष्णु चालिसे र ज्ञानेन्द्र आले तथा महिला सचिवमा नम्रता घले गुरुङ विजयी भए भने कोषाध्यक्षमा विष्णु खरेल र सहकोषाध्यक्षमा सशांक शर्माले जीत हात पारे । युवा संयोजकमा तीर्थबहादुर (अनिल) मल्ल र महिला संयोजकमा विमला लिम्बू विजयी भए ।

कार्यसमिति सदस्यमा उपेन्द्र पौडेल, सुरेश परियार, सुमन शर्मा, पदमबहादुर शाही, इन्दिरा खनिया, हिरा (दीपक) सापकोटा, चेतबहादुर राना, चम्पा थापा, विशाल राई, भानुभक्त घिमिरे, भिम खनाल र बालकृष्ण दाहाल विजयी भए। अध्यक्षसहित कार्यसमितिका सबै पदमा गाहामगरकै समूह विजयी भएको छ ।

एनआरएनए इंग्ल्यान्ड राज्य परिषदमा एलबीजेड गुरुङ र स्कटल्यान्डमा काशिराम भन्डारी अध्यक्ष विजयी भएका छन् ।

इंग्ल्यान्डको अध्यक्षमा विजयी गुरुङले ३ हजार ६ सय २३ मत पाए भने प्रतिद्वन्दी डा मीन रानाभाटको ३ हजार १ सय ४१ मत आयो । परिषदको उपाध्यक्षमा भक्त दर्जी, सचिवमा रामप्रसाद पन्थी र कोषाध्यक्षमा सचिन भट्टराई विजयी भए ।

त्यस्तै, स्कटल्यान्ड राज्य परिषदमा काशिराम भन्डारी ५ सय २२ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी दिवाकर पाण्डेले २ सय ५० मत ल्याए ।

स्कटल्यान्ड परिषदको उपाध्यक्षमा उज्वल कार्की, सचिवमा मनिष खत्री, सहसचिवमा यशोदा सुमी भन्डारी र कोषाध्यक्षमा शर्मिला भन्डारी, सहकोषाध्यक्षमा प्रजापति शर्मा विजयी भए ।सदस्यमा बलिभद्र अमै, कमला श्रेष्ठ, कृष्ण देवकोटा र टिकाराम खराल विजयी भएका छन् । वेल्स र नर्दन आयरल्यान्डमा यसअघि नै निर्विरोध भएको थियो।

निर्वाचन समितिका प्रमुख आयुक्त महेन्द्रराज कँडेलको अध्यक्षतामा घोषणा कार्यक्रम भएको थियो ।निर्वाचन समितिमा सोलिसिटर राजु थापा, दयानिधि सापकोटा, पशुपति भण्डारी, सुवसिंह गुरुङ सदस्य रहेका थिए भने कर्णबहादुर शाही सदस्य सचिव रहेका थिए ।

मतपरिणाम सार्वजनिक भएपछि अध्यक्ष गाहाले आफूलाई मतदान दिने सबै मतदाताहरु तथा निर्वाचन अधिकृत महेन्द्रराज कंडेल सहितको निर्वाचन मण्डल टिमलाई धन्यवाद व्यक्त गरे । आफ्नो चुनावी अभियानमा साथ दिने र आफूसँग चुनावी मैदानमा उठेका सबैको माग सम्बोधन गर्दै धाँधलीरहित र संस्थागत एनआरएनए बनाउने अभियानमा आफू लाग्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV