२४ श्रावण २०७८, आईतवार

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रान्सेली लिग वानमा विजयी सुरुआत गरेको छ । शनिबार राति भएको नयाँ सिजनको आफ्नो पहिलो खेलमा पीएसजीले ट्रोयसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीलाई जित दिलाउनको लागि अचरफ हाकिमी र मउरो इकार्डीले गोल गरे । ओलिड एल हाजमको गोल सान्त्वना बन्यो ।

घरेलु मैदानमा भएको खेलमा हाजमले गोल गर्दै ट्रोयसलाई अग्रता दिलाएपनि त्यसलाई जोगाउन नसक्दा पराजित हुन पुग्यो । उनले खेलको नवौं मिनेटमा डेलान चाम्बोस्टको पासमा गोल गरेका थिए ।

१९औं मिनेटमा पीएसजीले खेल बराबरीमा ल्याए । यसै सिजन इटाली क्लब इन्टर मिलानबाट पीएसजी आएका हाकिमीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । उनले एन्डर हेरेराको पासमा गोल गरेका थिए ।

त्यसको दुई मिनेट पछि नै मोउरो इकार्डीले गोल गर्दै पीएसजीलाई २-१ ले अघि बढाए । उनले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए ।

त्यसपछि दुवै टोलीबाट थपा गोल हुन नसक्दा खेल पीएसजीले जित्यो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV