२३ श्रावण २०७८, शनिबार
  • ज्योतिकुमार पन्थी,

बर्दिया । एउटा पक्की पुलको अभावमा बर्दियाको भौराटप्पु अर्थात् राजापुर क्षेत्रका जनताले सास्ती भोगेको बर्षौ वितिसकेको छ । तरपनि उनीहरुले भोग्दै आएको सास्तीप्रति कसैको ध्यान जान सकेको छैन ।

सानो–तिनो कामका लागि पनि उनीहरुलाई हरेक दिन टिकापुर बजार पुग्नु पर्ने बाध्यता छ । तर दौलपुर घाट उनीहरुका लागि सदैव तगारो बन्दै आएको छ । त्यसैले उनीहरुले बर्षाको समयमा डुंगाको सहयोग लिनुपर्ने बाध्यताले पनि २७ बर्ष टेकिसक्यो ।

बर्दिया जिल्लाको भौराटप्पु भनेर चिनिएको राजापुर क्षेत्रका स्थानीय बासिन्दा अति आवश्यक कामको लागि दैनिक जसो जोखिमपूर्ण यात्रा गर्न विवश छन् । राजापुर नगरपालिकाको उत्तरी भेग र गेरुवा गाऊँ पालिकाका स्थानीय बासिन्दाहरुलाई ससानो कामका लागि पनि टिकापुर बजार पुग्नु पर्ने बाध्यता छ ।

तर, दौलपुर घाटमा पक्कीपुल निर्माण हुन नसक्दा स्थानीयले सास्ती व्यहोर्नु परेको छ । स्वास्थ्य, शिक्षा र दैनिक उपभोग्य बस्तु खरिद गर्नको लागि टिकापुर जाने स्थानीयहरु जोखिम यात्रा गर्न बाध्य भएका हुन् ।

वर्षाको समयमा नदीमा पानीको सतह बढ्ने भएकोले यो बेलामा अझ जोखिम हुने गर्छ । दौलतपुर घाटमा बेला बेलामा दुर्घटना भै रहने भए पनि अहिलेसम्म मानवीय क्षति भने नभएको विगत २७ वर्षदेखि डुंगा सञ्चालन गर्दे आई रहेका गौरी संकर थारुको भनाइ छ ।

भौगोलिक हिसाबले भौंरा टापुवासीहरुलाई टिकापुर बजार जानको लागि केन्द्र बिन्दू मानिने दौलतपुर घाट नै हो । प्रत्येक दिन आफ्नो ज्यान जोखिममा राखेर यात्रा गर्ने स्थानीयहरुले दौलतपुर घाटमा पुलको माग थालेको वर्षौ वितिसक्यो ।

२०५१ सालमा दौलतपुर घाटमा पक्की पुल निर्माणका लागि रातो किताबमा बजेटको व्यवस्था भएपनि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन । दौलतपुर घाटमा पुल अति आवश्यक रहेपनि पूर्व पश्चिम राजमार्ग र हुलाकी सडकको बिचमा अर्को पुल बनाउन नमिल्ने राजापुर नगरपालिकाको तर्क छ ।

भौरा टापुवासीलाई सदरमुकाम गुलरिया र छिमेकी जिल्लासंग जोड्ने एकमात्र माध्यम हुलाकी मार्ग नै हो । भौगोलिक हिसावले जिल्ला सदरमुकाम टाढा पर्ने भएकोले स्थानीयवासी टिकापुर बजारको सहारा लिने गर्दछन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV