२३ श्रावण २०७८, शनिबार

विराटनगर । विराटनगर महानगरपालिकाले नगरक्षेत्रका विद्यार्थीहरुलाई स्थानीयताको जानकारी दिन तथा आफ्नो भूगोल, भाषा, पर्व, धर्म र संस्कृति लगायतका विषयमा विज्ञ बनाउन आधारभुत तहका लागि स्थानीय नयाँ पाठ्यक्रम विकास गरेको छ ।

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७५ मा भएको प्रावधानअनुसार स्थानीय तहले विद्यालय तहको पाठ्यक्रममा १ सय पूर्णाङ्कको स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गर्न पाउने व्यवस्थाअनुसार विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले “हाम्रो विराटनगर” नाम दिएर स्थानीय पाठ्यक्रम निर्माण गरेको हो ।

कक्षा १ देखि कक्षा ५ सम्म लागु हुने स्थानीय पाठ्क्रमको एक कार्यक्रमका बीच विमोचन गरिएको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले पाठ्यक्रमको विमोचन गरेका थिए ।

पाठ्यक्रम निर्माणको उद्धेश्य विद्यार्थीहरुमा स्थानीयतहका भौगोलिक,ऐतिहासिक,धार्मिक र सांस्कृतिक विषयको जानकारी दिनु रहेको छ । महानगर भित्रका विद्यालयहरुमा स्थानीयताको बारेमा पठनपाठन नहुदा आफु जन्मे हुर्केको ठाउँ भएपनि स्थानियताबारे बिद्यार्थी जानकार बन्न सकेका थिएनन् । स्थानियताबारे ज्ञानको कमिका कारण विद्यार्थीमा रचनात्मकताको विकास नहुने भन्दै सानै उमेर देखि विद्यार्थीलाई स्थानिय भुगोलदेखि भेषभुषा सम्मका विषयमा ज्ञान दिनुपर्दछ भन्ने अभिप्रायका साथ पाठ्यक्रम विकास गरिएको मेयर भिम पराजुलीले बताए ।

पाठ्यक्रममा आउने सुझाबहरुलाई आधार मान्दै कक्षा ६ देखि ८ सम्मको परिष्कृत पाठ्यक्रम समेत निर्माण गरिने मेयर पराजुलीले जानकारी दिए ।

बिमोचन गरिएको पाठ्यक्रम विराटनगर क्षेत्रका सवै नीजि तथा सामुदायिक विद्यालयमा शैक्षिक सत्र २०७८ देखि अनिवार्य लागु गरिएको छ । यही पाठ्यक्रममा आधारित रहेर नेपाली र स्थानिय भाषामा स्थानिय विषयको पाठ्यपुस्तक प्रकाशित हुने छ ।

प्राध्यापक डा.अनिल पोखरेलको संयोजनमा स्थानिय पाठ्यक्रम निर्माण समितिले पाठ्यक्रम निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV