२३ श्रावण २०७८, शनिबार

काठमाडौँ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर भत्काइएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानले उक्त घर जीर्ण भएकाले भत्काएर पुनः सोही शैलीमा पुनर्निर्माण गर्ने बताएको छ ।

यसअघि ‘कविकुञ्ज’ भनिँदै आएको उक्त घरलाई अब ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’ नामाकरण गरी पुनर्निर्माण गरिने प्रतिष्ठानको भनाइ छ । तर ‘पुनर्निर्माण’ गरिने भनिए पनि ‘लिफ्ट’लगायत आधुनिक निर्माण शैली प्रयोग गरिने भएकाले यसलाई ‘नवनिर्माण’ भन्न सकिने एकथरीको तर्क छ । जसले गर्दा महाकविको उक्त घरको मौलिक अस्तित्वका साथै पुरातात्विक महत्व समाप्त हुनेछ ।

विश्वमा विभिन्न प्रसिद्ध कविहरुका जन्मघर सताब्दौऔँसम्म संरक्षण गरेर राखिएको उदाहरण दिँदै नेपालमा पनि महाकवि देवकोटाको घर संरक्षण गर्न सकिन्थ्यो भन्दै सामाजिक सञ्जालमा बहस र आलोचना भइरहेको छ । यसमा विशेषगरी साहित्यकार र प्राज्ञिक क्षेत्रका मानिसले आलोचना गरिरहेका छन् ।

वरिष्ठ लेखक तथा पत्रकार कनकमणि दीक्षितले महाकविको घर भत्काइनु कुनै हालतमा राम्रो नभएको बताएका छन् । ‘महाकविले सास फेरेको घर हो यो,’ उनले भनेका छन्, ‘जीर्ण अवस्थामा भए पनि आजसम्म बँचेको लक्ष्मीप्रसाद देवकोटाको घर भत्काएर उस्तै उस्तै संग्रहालय निर्माण गर्नुको तुक छैन ।’ उनले पुरातत्व विभाग, काठमाडौँ महाननगरपालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय या महाकविकै परिवारले यो ‘डिमोलिशन’ कार्य रोक्न लगाउनुपर्ने समेत बताएका छन् ।

‘हुन त नेपाल प्रज्ञा प्रतिष्ठानका जागिरे प्राज्ञहरूसित महाकवि देवकोटाको मूल घर भत्काएर नयाँ संरचना निर्माण गर्नुका अनेक तर्क होलान्,’ आख्यानकार नयनराज पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर यो भ्रष्ट, मूर्खतापूर्ण र बहुलट्ठी निर्णय हो । यस्तो दरिद्र सोचको निन्दा म गर्छु ।’

यस्तै, कवि-लेखक भोजराज न्यौपानेले महाकवि देवकोटाको घर भत्काइएको दृश्य हेरेरै आफू मरेतुल्य भएको बताएका छन् । ‘संग्रहालयमा के के हुनुपर्छ प्राज्ञ सरहरु ?’ प्रश्न उठाउँदै उनले लेखेका छन्, ‘कुन नैतिकताको आधारले प्राज्ञ बनिरहने प्राज्ञहरु ? नैतिकता बाँकी भए तत्काल माफी माग्नुस् । राजिनामा दिनुस् । महाकविको सुन्दर घर भत्काएर अपराधको मतियार बन्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका विद्वान् सरहरु, धिक्कार छ । नेपाली साहित्यमा तपाईंहरुको यो कदम सदैव घृणायोग्य रहनेछ ।’

लेखक एवं रंगकर्मी टंक चौलागाईंले फेसबुकमा लेखेका छन्, ‘जस्तोसुकै होस्, भएको घर भत्काएर सङ्ग्रहालय बनाउने बुद्धि कसैलाई पनि नआओस् । यो पागलपन हो । देवकोटाको स्पर्श पाएको ति हरेक ईंटाहरु, माटो, काठपात संरक्षण हुनुपर्छ ।’ टेको लगाएर, बाँधेर, केही बाँकी रहेनछ भने जे छ त्यसैलाई पोको पारेर सजाउन सके पने सङ्ग्रहालयको गरिमा बढ्ने उनकाे भनाइ छ ।

पत्रकार मोहन प्रसाद मैनाली ट्वीटरमा लेख्छन्, ‘महाकवि लक्षमीप्रसाद देवकोटाको मूल घर भत्काउनु मुर्खताको पराकाष्ठा हो । नेपाल प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ छैनन् जस्तो लाग्यो । थिए भने यस्तो मुर्खतापूर्ण कार्य किन गर्थे होलान् र ?’ संरक्षण गर्नुपर्ने अमूल्य धरोहर भत्काएर हिरा–मोतीकै महल बनाए पनि महत्वहीन हुने उनको भनाइ छ ।

उता, पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पनि उक्त कार्यको निन्दा गरेका छन् । ‘महाकवि देवकोटाले पागल कविता लेख्नुभएको थियो । के अहिले हामी सबै पागल भएका हौं ?’ उनले ट्वीटरमा लेखेका छन्, ‘महाकविको संग्रहालय बनाउँदा वहाँको ऐतिहासिक पुरातात्विक महत्वको घरलाई समेत आवश्यक जिर्णोद्धार/सबलीकरण गरेर त्यसैमा वहाँका कृति, जीवनी झल्कने सामग्री पो राख्नुपर्थ्यो । अझै सच्याऊँ ।’

माथिका यी केही उदाहरण मात्र हुन् । अधिकांश बौद्धिक वृत्तमा महाकविको सग्लो घर भत्काएर करोडौँ बजेटमा पुन अर्को घर बनाइनुलाई ‘मूर्खतापूर्ण काम’ भनेर आलोचना भइरहेको छ । तर कतिपयले भने जीर्ण अवस्थामा रहेकाे घर भत्काइए पनि माैलिक स्वरूपमा पुनर्निर्माण हुनु राम्राे हाे भन्ने तर्क समेत गरेका छन् ।

के भन्छ प्रज्ञा-प्रतिष्ठान ?

घर भत्काउने कार्य आलोचित भएपछि नेपाल प्रज्ञा-प्रतिष्ठान (नेपाल एकेडेमी) ले यसबारे प्रष्टीकरण दिएको छ । महाकवि देवकोटाको परिवारबाट मोहियानी हक हस्तान्तरण भई उक्त घरको हकभोग प्रज्ञा-प्रतिष्ठानको नाममा आएको प्रतिष्ठानले जनाएको छ ।

महाकविले जीवन बिताएको उक्त घर र घरले चर्चेको १२ आना १ दाम जग्गा नेपाल सरकारको सहयोगमा देवकोटा परिवारलाई २ करोड ५० लाख रकम उपलब्ध गराएर ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’ निर्माण गर्ने हेतुले प्रतिष्ठानको हकभोगमा ल्याइएको प्रतिष्ठानद्वारा शुक्रबार जारी विज्ञप्तीमा भनिएको छ ।

तर उक्त घर-जग्गाको स्वामित्व भने गुठी संस्थानको मातहतमै रहेको छ । मोहियानी हकभोग मात्र देवकोटा परिवारबाट नेपाल प्रज्ञा–प्रतिष्ठानमा आएको प्रतिष्ठानले जनाएको छ ।

देवकोटा परिवारका अनुसार उक्त घर वि. सं. २००० सालमा बनेको थियो । सोही वर्षदेखि प्रयोगमा आएको घरको तेस्रो तला २०१४ सालमा थपिएको र विगत १५ वर्षदेखि भने घर जीर्ण भएर प्रयोगविहीन अवस्थामा रहेको प्रतिष्ठानले जनाएको छ ।

‘वि. सं. २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त बनेको सो घर प्रतिष्ठानको हकभोगमा आएलगत्तै पटक पटक विशेषज्ञ प्राविधिकहरू र सरोकारवालाहरूसँग बसेर सबलीकरण गर्न सकिनेरनसकिने विषयमा स्थलगत अवलोकनसहित छलफल गरिएको थियो,’ विञप्तीमा भनिएको छ, ‘अवलोकन गर्दा भग्नावशेषमा परिणत हुन लागेको उक्त घरको गारोमा प्रयोग भएका धेरै इँटाहरू काँचा र टुक्रा भएको, सग्ला इँटा अत्यन्त कम मात्र भएको, त्यहाँ प्रयोग भएको काठ धमिराले खाएको र मक्किइसकेको, भित्र पस्दा तला तलामा भ्वाङ नै भ्वाङ भएको र भ्वाङ नभएका ठाउँमा समेत पाइला टेक्दा धसिने गरेको अनि उभिएका ठाउँमा समेत माथिल्ला तलबाट मक्किएका दलिन र माटो खस्ने गरेको त्रासपूर्ण अवस्थाको यथार्थ अनुभव त्यहाँभित्र पसेका प्राज्ञजन, देवकोटा परिवारजन, प्राविधिक इन्जिनियरहरू, सञ्चारकर्मी मित्रहरूलगायत सबैलाई भएकै छ ।’

उक्त घरलाई यथावत् राखी सबलीकरण गर्न नसकिने प्राविधिक ठहर भएपछि मात्र साबिकको घरको बाह्य स्वरूप आउने गरी प्रस्तावित ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’ निर्माणको प्रक्रिया अगाडि बढाइएको एकेडेमीको प्रष्टीकरण छ ।

‘प्रस्तावित संग्रहालय निर्माण प्रयोजनका लागि साबिकको घर भत्काउनु बाध्यात्मक अवस्था हो,’ विज्ञप्तीमा भनिएको छ, ‘प्रस्तावित संग्रहालय भवन विभिन्न उमेर अवस्थाका अवलोकनकर्ताहरूलाई दृष्टिगत गरी सुविधाका दृष्टिले आधुनिकता र कलाका दृष्टिले नेपाली मौलिकता कायम हुने गरी निर्माण गर्न लागिएको हो ।’ संग्रहालय निर्माण गर्ने क्रममा प्राङ्गणमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको प्रतिमा समेत राखिने जनाइएको छ ।

यस्तो बन्नेछ लिफ्टसहितको संग्रहालय

एकेडेमीका अनुसार देवकोटाको सालिक राखिने क्षेत्रमा हरियालीयुक्त सानो उद्यानसमेत रहने र सँगै पानीको फोहोरा समेत रहने छ । परिसरमा अवलोकनकर्ताहरूले प्रयोग गर्ने दुई–तीनओटासम्म हलुका सवारी साधन पार्किङ गर्न मिल्ने गरी व्यवस्था गरिने छ ।

संग्रहालयको भुइँतलामा स्वागत कक्ष, प्रतीक्षा कक्ष र देवकोटासँग सम्बन्धित श्रव्यदृश्य सामग्री रहने छन् भने पहिलो तलामा देवकोटाले आफ्नो जीवनकालमा प्रयोग गरेका उपलब्ध भएसम्मका सामग्रीहरू रहने छन् । यसैगरी दोस्रो तलामा देवकोटाका प्रकाशित कृतिहरू, प्राप्त भएसम्मका अप्रकाशित पाण्डुलिपिहरू र स्वदेशी तथा विदेशी विद्वान्हरूद्वारा देवकोटाका विषयमा लेखिएका उपलब्ध भएसम्मका कृतिहरूरशोधपत्रहरू रहने छन् ।

घरको तेस्रो तला अर्थात् अन्तिम तलामा संग्रहालय अवलोकन गरिसकेपछि देवकोटाको जीवन, व्यक्तित्व र कृतित्वका विषयमा विचार–विमर्श, अन्तरक्रिया तथा गोष्ठी गर्नका लागि एउटा सभाकक्ष समेत रहने प्रतिष्ठानले जनाएको छ । साथै भवनमा अशक्त अवस्थाका अवलोकनकर्ताहरूका लागि लिफ्टको व्यवस्था समेत गरिने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV