२२ श्रावण २०७८, शुक्रबार

काठमाडौं । कोरोना संक्रमणको जोखिममा परेका नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने व्यवस्था गर्न राष्ट्रियसभाका सदस्यहरुले माग गरेका छन् । शुक्रबार बसेको राष्ट्रियसभाको बैठकमा उनीहरुले तेस्रो लहरको कोरोनाको उपचारका लागि स्वास्थ्य संस्थामा तयारी गर्ने व्यवस्था मिलाउन पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा बैठकमा सांसद तारादेवी भट्टले राष्ट्रिय गौरवका आयोनामा काम गर्ने श्रमिकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउने व्यवस्था गर्न माग गरे । कूल बजेटको सात प्रतिशतभन्दा बढी स्वास्थ्य क्षेत्रमा छुट्याइएको उल्लेख गर्नुहुँदै उनले कार्यान्वयन हुने वातावरण बनाउन माग गरे ।

सांसद पर्शुराम मेघी गुरुङले कार्यसम्पादन मूल्याङ्कनमा कुनै कर्मचारी फेल नभएको उल्लेख गर्नुहुँदै सेवा प्रवाह चुस्त हुन नसकेको बताए । उनले विसं २१०० सम्म मुलुकलाई समृद्ध देशका रुपमा अघि बढाउने १५ औँ योजनाको लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिए ।

सांसद रामनारायण विडारीले संसद् विघटन गरेर अध्यादेशमार्फत संसदीय सुनुवाइ नगरी संवैधानिक निकायका पदाधिकारी नियुक्त गरिएको, त्यसविरुद्ध सर्वोच्चमा मुद्दा परेको अवस्थामा सुरुवाईको अवस्थाका बारेमा जानकारी माग गरे । सांसद कोमल वलीले केपी ओली नेतृत्वको पूर्वसरकारले ढाल्ने दलले जनताले चाहेअनुरुपका कार्यक्रम दिन नसकेको बताइन् ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्कील ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ पेश गरे । त्यस्तै प्रधानमन्त्री देउवाका तर्फबाटै मन्त्री कार्कीले ‘निर्वाचन आयोग, नेपालको वार्षिक प्रतिवेदन, २०७६÷०७७’ सभामा पेश गरे ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘लोक सेवा आयोग विधेयक, २०७५’ सभा समक्ष टेबुल गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही साउन २४ गते आइतबार अपरान्ह १ बजे बोलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV