२२ श्रावण २०७८, शुक्रबार

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवन तोकिएको समयमै निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।

शुक्रबार निर्माणाधीन संसद् भवनको अवलोकन गर्दै तोकिएको समयमै निर्माण सम्पन्न गर्न सबै उपाय अपनाउन निर्देशन गर्दै उनले त्यसका लागि आफ्नो साथ र सहयोग रहने बताए ।

उनले प्रतिकूलताका बीच पनि निर्माण कार्यले गति लिएको र आगामी दिनमा पनि समन्व्यात्मक ढङ्गले काम गर्न निर्देशन दिए । दुई वर्षभित्र निर्माण गर्नुपर्ने अवस्था रहेपनि तीब्र गतिमा काम भए तोकिएभन्दा चाँडो काम सम्पन्न हुने उनको भनाइ छ ।

उनले कामको रफ्तार बढाउन पनि आयोजनासँग आग्रह गरे । भवन निर्माणमा संलग्न कामदारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन पनि आफूले पहल गर्ने उनले बताए ।

सो क्रममा भवन निर्माण परियोजनाका प्रमुख दिलीपशेखर श्रेष्ठले निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ३२.५ प्रतिशत पुगेको बताए । सम्झौताअनुसार नयाँ संसद् भवन २०७९ असोज १५ गतेभित्र सम्पन्न हुनुपर्नेछ ।

भवन निर्माणमा २२ महिना व्यतित भइसकेको छ । कोरोनाका कारण निर्माण अवधि छ महिना थप गरिएको छ । आयोजनाको कूल लागत रु छ अर्ब दुई करोड रहेको छ ।

सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, सचिवालय, दलका कार्यालय, पुस्तकालय, चमेनागृहलगायत अत्याधुनिक संरचना हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV