२१ श्रावण २०७८, बिहीबार

काठमाडौं । सरकारका लेखा अधिकृत दिनेश लम्सालको ‘हाफ जिन्दगी’ सार्वजनिक भएको छ । यस अघि फुटकर लेख रचना लेख्दै आएका उनको संस्मरणात्मक कृति ‘हाफ जिन्दगी’ बिहीबार लोकार्पण गरिएको हो ।

व्यग्यका क्षेत्रमा पोखरेली कान्छाको उपनामबाट कलम चलाउँदै आएका लम्सालले आफ्ना बाल्यकाल, किशोरावस्था, युवा अवस्थाका भोगाइलाई उक्त कृतिमा उतारेका छन् ।

कार्यक्रममा कृतिमाथि प्रकाश पार्दै समालोचक डा हरि सिलवालले लेखकले कृतिमा आफ्नै जिन्दगीमाथि व्यंग्य गरेको बताए । उनले बाल्यकालीन जिन्दगी रोइरहेको, आर्तनाद गरिरहेको र कष्टमय रहेको,शैक्षिक जीवनका हण्डर र ठक्करहरु पठनीय र स्मरणीय रहेको बताए ।

नेपाल निजामती कर्मचारी संगठनका पूर्व अध्यक्ष मोहन घिमिरेले लकडाउनको समयमा धेरै कर्मचारीले तास खेलेर बिताए भन्ने आरोपलाई पोखरेली कान्छाले दह्रो झापड हानेको टिप्पणी गरे ।

लेखकले लकडाउनको समयको सदुपयोग गर्दै हाफ जिन्दगी बजारमा ल्याएकोमा बधाई दिँदै लेखकलाई विगतप्रति गुनासो नभई सम्मान गर्न सुझाव दिए ।

पर्यटनविद् डा प्रेम शर्माले हाफ जिन्दगी पुस्तक प्रेरणादायी रहेको र यस्ले नकरात्मक प्रेरणाबाट सकरात्मक प्रेरणातर्फ अघि बढ्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

भाषाविद् डा यज्ञश्वर निरौलाले कृति रमणीय,एकै बसाईमा पढेर सिद्धाउन सकिने भन्दै लेखकको प्रंशसा गरे । यस्तै आधिकारिक कर्मचारी ट्रेड युनियनका कार्यबाहक अध्यक्ष भोला पोखरेलले कृतिका लेखकलाई आफूले कुशल संगठकको रुपमा मात्र चिनिरहेकोमा लम्साल कुशल साहित्यकारका रुपमा समेत देख्न र चिन्न पाउँदा गर्व लागेको सुनाए ।

साहित्यकार तथा प्रज्ञा प्रतिष्ठानका प्रज्ञा सदस्य देवी नेपालले निजामती क्षेत्रबाट एक पछि अर्को साहित्यकारहरु जन्मनु एकेडेमीकै लागि समेत गर्वको बिषय भएको बताए ।

प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्यायले नलेख्नेको प्रतिभा जीवनको अन्त्यसँगै सकिने हुँदा पुस्ता पुस्तालाई अवगत गराउन समेत साहित्य लेखनमा लाग्नुपर्ने सुझाए ।

प्रमुख अतिथीको आसनबाट बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले निजामती सेवामा लाखौं कर्मचारीमध्येबाट केही कर्मचारी पछिल्ला दिनमा साहित्य लेखनका क्षेत्रमा समेत सक्रिय रहेको पाउँदा गर्व लागेको सुनाए ।

‘हाफ जिन्दगी पोखरेली कान्छो’ लम्सालको कृति हाफ जिन्दगी बीएण्डबी पब्लिसर तथा डिष्ट्व्यिुटर्स प्रालीले बजारमा ल्याएको हो ।

छुरा व्यग्यकार हुन पोखरेली कान्छो । निजामती कर्मचारीलाई सरकारविरुद्ध बोल्न लेख्न बन्देज छ तर उनी देखिएका,भोगिएका विकृती टुलुटुलु हेरेर बस्न सक्दैनन्,छद्म नाम पोखरेली कान्छो जुराएका छन् र सरकार,प्रशासनभित्र देखिएका विकृती बिसंगतीविरुद्ध जेहाद छेड्दछन् ।

तिनै व्यग्यकार पोखरेली कान्छोको संस्मरणात्मक कृति हाफ जिन्दगी आज सार्वजनिक भएको हो ।

५ अध्याय समेटिएको हाफ जिन्दगीमा लेखकले इमान्दार ढंगले आफ्ना बालापन,भोगाई,असाध्य कष्टकर युवावय हुँदै सरकारी सेवामा प्रवेश गर्दासम्मको भोगाईहरुलाई उतारेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV