२० श्रावण २०७८, बुधबार
  • हरिशंकर शर्मा,

वीरगंज (पर्सा) । पर्साको ठोरी गाउँपालिकास्थित विभिन्न विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी एवं कार्यालय सहयोगीहरुको तलब वृद्धि गरिएको छ ।

भर्खरै सम्पन्न गाउँपालिकाको गाउँसभाबाट पालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयमा कार्यरत बालविकास सहयोगी, कार्यालय सहयोगी, कार्यालय सहायक र स्वयम् सेवक शिक्षक १४० जनाको तलबमा कम्तीमा २ हजारदेखि २३३ प्रतिशतसम्म वृद्धि भएको छ ।

संघीय अनुदानमा मासिक रु ८ हजार तलबमा कार्यरत २७ जना बालविकास सहजकर्ताको तलब ७ हजारले बढाएर १५ हजार पु¥याइएको छ, भने गाउँपालिकाको अनुदानमा मासिक रु ६ हजारमा कार्यरत २१ जना बालविकास सहजकर्ताको तलब ९ हजार वृद्धि गरेर १५ हजार पु-याएको छ ।

यस्तै मासिक रु ४ हजार ५ सयदेखि ७ हजार ५ सय सम्म तलबमा कार्यरत २४ जना कार्यालय सहयोगीको पनि तलब वृद्धि गरेर १५ हजार पु-याइएको छ, भने गाउँपालिकाको अनुदानमा मासिक रु १५ हजार तलबमा अधारभुत विद्यालयमा कार्यरत १० जना स्वयम् सेवक शिक्षकको तलब २ हजारले वृद्धि गरेर १७ हजार, मावि तहमा २५ हजारमा कार्यरत ३ जनाको शिक्षकको २ हजार वृद्धि गरेर २७ हजार पु-याइएको छ ।

यसैगरि मावि तहको विद्यालयमा मासिक रु ११ हजार ५ सय तलबमा कार्यरत ५ जना कार्यालय सहायकको रु ५ हजार ५ सयले वृद्धि गरेर १७ हजार, टोल टोलमा सिकाई सहजीकरणका लागि नियुक्त गरिएका ५० जना घरदैलो स्वयमसेवकको पनि मासिक रु ५ हजारबाट वृद्धि गरेर ७ हजार पु-याइएको गाउँपालिकाले जनाएको छ ।

तलब वृद्धि भएपछि गापा अध्यक्षलाई सम्मान

गाउँपालिकाले विद्यालयमा कार्यरत कर्मचारी, शिक्षक एवं कार्यालय सहायकहरुको तलब वृद्धि गरेपछि पालिका अध्यक्ष पद्मलाल श्रेष्ठ (पि.एल. श्रेष्ठ) लाई विद्यालय कर्मचारी र शिक्षकहरुले सम्मान गरेका छन् ।

ठोरी गाउँपालिका वडा नं. ४ स्थित श्री ज्ञान ज्योती ने.रा.मा.वि. घ्याङडाँडामा आयोजित एक कार्यक्रमबीच विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी एवं कार्यालय सहायकहरुले सम्मान गरेका हुन् ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष पद्मलाल श्रेष्ठले पर्साको अति विकट ठाँउ भनेर चिनिने पश्चिमी क्षेत्र ठोरीमा विस्तारै शिक्षाको अवस्थामा सुधार हुँदै गएको दाबी गरे ।

पालिकाले अहिले सडक विकास भन्दा पनि शिक्षा, स्वास्थ्यको सुधारलाई विशेष प्राथमिकता राख्दै अगाडि बढिरहेको भन्दै सोही अन्तर्गत न्यूनतम तलबमा कार्यरत शिक्षक, शिक्षिकाहरुको तलब वृद्धि गरिएको बताए ।

वर्तमान अवस्थामा सहरमा काम गर्दा मासिक कम्तिमा ३० हजार तलब पाउने अवस्थामा यस क्षेत्रको शैक्षिक क्षेत्रमा काम गर्दै आएका कर्मचारीहरुको तलब एकदम न्यून रहेकोले उनीहरुलाई प्रोत्साहन स्वरुप भएपनि तलब वृद्धि गर्नुपर्ने पालिकाले निर्णय गरेको बताए ।

यहाँका शिक्षकहरुको अवस्था पालिकाले बुझेर तलब बृद्धि गरेकोले सोही अनुसार प्रतिफल पनि दिनुपर्ने शिक्षक कर्मचारीहरुको पनि दायित्व रहेकोले अबको दिनमा अझै इमान्दारितापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नुपर्ने कुरामा जोड दिए ।

उनले भौतिक विकासले मात्रै पालिकाको विकास नहुने भन्दै प्रत्येक वर्ष डेढ करोड नदी नियन्त्रणमा मै लगानी गर्ने यस पालिकाले शैक्षिक क्षेत्रमा वर्षेनी २ करोड किन लगानी गर्न सक्दैन ? त्यसैले अबको विकास भौतिक विकास भन्दा पनि शिक्षा, स्वास्थ्यको विकासको आवश्यकता रहेको बताए ।

उनले पालिकाको शिक्षाको अवस्था दिनप्रतिदिन सुधारोन्मुख हुँदै गएको कारण एक दुईवटा निजी विद्यालयहरु यहाँबाट पलायन भएको स्मरण गराउँदै आगामी दिनमा अझै पढाईलाई गुणस्तरीय बनाउनुपर्ने बताए ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठन ठोरीका अध्यक्ष दिपेन्द्र सापकोटा, शिक्षक माधव तिमिल्सिना, शिक्षिका सावित्री श्रेष्ठ, पार्वती तमाङ, नारायण बहादुर गन्द्रभलगायतकाले तलब बढाएकोमा गाउँपालका अध्यक्षलाई धन्यवाद दिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV