२० श्रावण २०७८, बुधबार

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–१ थाक टुकुचेका वरिष्ठ समाजसेवी एवम् संस्कृतविद इन्द्र बहादुर तुलाचनको आज उपचारको क्रममा निधन भएको छ ।

समग्र मुस्ताङको लागि अतुलनीय योगदान पुर्याएका तुलाचन लामो समयदेखि बिरामी थिए । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि हिजो मात्रै पोखरा पुर्याइएका तुलाचनको आज दिउँसो २ बजेर ३० मिनेटमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

विसं. १९९५ साल बैशाख ५ गते थाक टुकुचेमा जन्मिएका स्व. तुलाचन समग्र मुस्ताङको लागि गहना थिए । बुबा क्षेत्र बहादुर तुलाचन र आमा खन्ती साङ्मो तुलाचनको कोखबाट जेष्ठ शुपुत्रका रूपमा जन्मिएका तुलाचनले आफ्नो जीवनकालमा मुस्ताङ र मुस्ताङ बासीको लागि अतुलनीय भुमिका निभाएका थिए । हिमाली जिल्ला मुस्ताङको प्राकृतिक र भौगोलिक विविधतालाई भरपुर प्रयोग गरेर कृषि जस्तो पेसालाई अङ्गाल्नु तत्कालीन अवस्थामा सहज भने थिएन ।

स्याउ बाजेको नामले परिचित वरिष्ठ बागबानी विज्ञ स्वर्गीय वृद्धिरन्त शेरचनकै पालमा तुलाचनले स्याउ खेती गरेर शेरचनलाइ साथ दिएका थिए । उहाँहरुकै पालामा सुरुवात भएको स्याउ खेतिले अहिले विश्व बजारमा एक किसिमको तहल्का मच्चाइरहेको छ । बौद्धिक र मिलनसार व्यक्तिको अवसानले समग्र कृषि, पर्यटन र शिक्षा क्षेत्रलाई नै दुखित बनाएको उहाँलाई नजिकबाट नियाल्नुभएका श्री योगेन्द्र माविका प्रधानाध्यापक गोबिन्द प्रशाद श्रेष्ठले बताए ।

स्वर्गीय तुलाचनले बौद्धिक व्यक्तिहरुको सम्मान र कदरमा कहिल्यै पनि कन्जुस्याइँ नगरेको श्रेष्ठले बताए, उनले भने, ‘थाक पुस्तकालयमा करिब २० वर्ष सहकार्य गर्दा उहाँको व्यक्तित्वलाई मैले नजिकबाट बुझ्ने अवसर पाएको छु । उहाँ प्रतिको सम्मान र सम्झना सधैं अविस्मरणीय हुनेछ । संगसंगै आफ्नो महत्वपूर्ण जीवन साहित्य, समाजसेवा, कला, शिक्षण पेशा र कृषि जस्तो महत्वपूर्ण क्षेत्रमा योगदान पुर्याए’। उनले अगाडि भने, ‘करिब आफ्नो जीवनको आधा भन्दा बढी समयत पुस्तकालयमै खर्च गरे । करिब १९ वर्ष थाक सात सय क्षेत्रमा मिर मुखिया भएर काम गरे ।’ साथै विभिन्न समयमा जिल्ला र गाउँको लागि अमूल्य योगदान पुर्याएको समेत श्रेष्ठको जिकिर रहेको छ ।

स्वर्गीय इन्द्रबहादुर तुलाचन मुस्ताङको लागि दुई पटकसम्म उप–प्रधान जिल्ला सदस्य, गाउँ फर्क अभियानको अध्यक्ष, थाक पुस्तकालय टुकुचेमा ४० वर्षसम्म अध्यक्ष, थकाली सेवा समितिको रहप वाचन केन्द्र चन्दा संकलनको संयोजक, थकाली सेवा समिती चार देवताको लागी अक्षयकोष स्थापनाको संरक्षक,श्री योगेन्द्र माविमा १७ वर्ष प्रधानाध्यापक, झोङो सिचाइ निर्माण समितिको संस्थापक अध्यक्ष, नेपाल बाल मन्दिरमा ६ कार्यकालसम्म सदस्य , समग्र जिल्लाको लागि ७ दशकभन्दा बढी समाजसेवा र थाक पुस्तकालय टुकुचेको भवन निर्माणको संयोजक समेत रहनुभएको थियो ।

आफ्नो जीवनकालमा परिवार संगसंगै समाज र जिल्लाको लागि धेरै योगदान पुर्याउनु भएका एक असल अभिभावक तथा सामाजिक अभियन्ता गुमाएको थाक पुस्तकालय टुकुचेका अध्यक्ष विष्णु थकालीले बताए । विसं २०२० सालमा भारतको गोरखपुर फरिन्दावादबाट इन्टरमिडिया आर्ट विषयमा आइ.ए. पास गरेर टुकुचे जस्तो ठाउँमा आइ शिक्षाको उज्यालो ज्योती छरेका तुलाचनको निधनले समग्र मुस्ताङलाई अपुरणिय क्षति पुगेको थकालीले बताए ।

जीवनमा समाज र जिल्लाको लागि राम्रो काम गरेकै कारण दुई दर्जनभन्दा बढी सम्मान, आधा दर्जन जति मेडल र तक्माद्वारा विभिन्न संघसंस्थाले स्वर्गीय इन्द्रबहादुर तुलाचनलाइ अभिनन्दन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV