१९ श्रावण २०७८, मंगलवार

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट चोरी भएका २३ वटा मोटरसाइकल फेला पारी धनीलाई जिम्मा लगाएको छ । मंगलबार विभिन्न मितिमा हराएका २३ मोटरसाइकल महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले सम्बन्धित धनीलाई बुझाएका हुन् ।

चोरीमा संलग्न मानिसलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी वृत्तहरुमा पठाइएको र मोटरसाइकलहरु सम्बन्धित धनीलाई सम्पर्क गरी बुझाउने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । हस्तान्तरण गरिएका २३ मध्ये १२ वटा पल्सर मोटरसाइकल र ११ वटा अन्य कम्पनीका रहेका छन् ।

कार्यक्रममा एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको ईलाकाबाट मोटरसाइकलहरु बरामद गरिएको, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी बृत्तहरुमा पठाइएको बताए ।

उनले सवारी साधन चोरी घटनालाई न्युनिकरण एवं नियन्त्रण गर्ने अभियान निरन्तर जारी रहेको बताए । गत आर्थिक वर्षमा मात्रै हराएका ४१८ वटा मोटरसाइकल खोजतलास गरि सम्बन्धित धनीलाई जिम्मा दिइयो भने चोरीमा संलग्न ५१ जनालाई समेत विभिन्न स्थानहरुबाट पक्राउ गरि कारबाहीको लागि प्रहरी बृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV