१९ श्रावण २०७८, मंगलवार

काठमाडौं । गैह्र आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय समिति माल्टाको आगामी २ वर्षे कार्यकालका लागि निर्वाचन सम्पन्न भएको छ । साझा र समाबेशी २ प्यानल गरी भएको निर्वाचनमा साझा प्यानलका भुवन अर्याल कुल ३३८ मत ल्याई अध्यक्षमा निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी रेमलाल खनालले कुल ३२१ मत प्राप्त गरेका छन्।

त्यस्तै केन्द्रीय सदस्यमा राजु अर्याल(बाबु)ले कुल ३४६ मत ल्याई निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी प्रकाश भण्डारीले कुल ३०८ मत प्राप्त गरेका छन् ।

त्यस्तै अन्य पदहरुमा बरिष्ठ उपाध्यक्षमा नबिन गिरी, उपाध्यक्षमा नरेश खनाल, कृष्ण बहादुर पुन, महिला उपाध्यक्ष सबिता भण्डारी, युबा उपाध्यक्षमा रोहित गौतम, महासचिवमा रोशन गिरी, सचिबमा कुलचन्द्र गौतम, रामु भण्डारी, कोषाध्यक्षमा मनोज उपाध्याय, युवा संयोजकमा रोशन आचार्य, महिला संयोजकमा बबिता अधिकारी निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा ओमलाल पाण्डे, ईशु थापा, जनक श्रेष्ठ, बिकेश घिमिरे, सुनिल राणामगर र रञ्जित गिरी निर्वाचित भएका छन् ।सहकोषाध्यक्ष भने यसअघि नै बिजय परियार निर्विरोध चयन भएका थिए ।

कुल ७५८ जना मतदातामध्ये ६६९ सहभागी भएका उक्त मतदानमा सबैभन्दा धेरै मत बरिष्ठ उपाध्यक्ष नबिन गिरीले ल्याएका छन् । गिरीले कुल ३८६ मत प्राप्त गरेका छन् । झापामा जन्मिएका गिरी लामो समयदेखी माल्टामा रहेर नेपालीहरुबीच परिचित छन् ।

नम्र बोली, समान ब्यबहार र नेपाली समुदायमा परेको दुख समस्यामा सधै साथ दिएकै कारण यति धेरै मत पाएको हुनसक्ने आँकलन गर्न सकिन्छ । गिरीले यसअघि पनि उपाध्यक्ष पदमा रहेर काम गरिसकेका थिए ।

हामीसँगको कुराकानीमा गिरीले आफ्नो क्षमता, बुद्धी, समय अनि परिस्थितिले भ्याएसम्म सबै माल्टाबासी नेपालीहरुलाई सधै साथ सहयोग गर्ने र सबै वर्ग, संगठनहरुसँग मिलेर अघि बढ्दै सबैलाई एकीकृत गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

साथै उनले संस्थाको दर्ता प्रक्रिया,माल्टामा नेपाली वाणिज्य दूत स्थापना, नेपाली श्रमिकहरुको हकअधिकार, माल्टामा जन्मिने नेपालीहरुका बालबच्चाहरुको हक अधिकार लगायतको विषयहरुमा बढी ध्यान केन्द्रित हुने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV