१८ श्रावण २०७८, सोमबार

बुटवल । लुम्बिनीमा सरकार परिवर्तनका लागि विपक्षी दलहरुको सक्रियता बढेको छ । लुम्बिनी प्रदेशसभामा कायम ४ विपक्षी दलले बहुमतको सरकार गठन गर्न माग गर्दै प्रदेश प्रमुखसमक्ष ४१ जना सांसदकाे हस्ताक्षर बुझाएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनलाई सोमबार उक्त हस्ताक्षरसहितको निवेदन बुझाउँदै उनीहरुले बहुमतको सरकार ठगनका लागि माग गरेका हुन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरु रहेका छन् ।

संविधानको धारा १६८ (१) बमोजिम हाल कायम रहेको एकल बहुमतको सरकार अल्पमतमा परिसकेको भन्दै बहुमतको सरकार गठनका लागि पहल गर्न उनीहरुले माग गरेका छन् । नेकपा एमालेबाट निर्वाचित मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परिसकेको भन्दै अब संविधानको धारा १६८ (२) अनुसार दुई वा सो भन्दा बढी दलहरुको समर्थनमा बहुमतको सरकार गठनका लागि विपक्षीले आह्वान गरेका हुन् ।

प्रदेशसभामा हाल ८० सांसद कायम रहेका छन् । बहुमतको सरकार गठनका लागि कम्तीमा ४१ सांसद आवश्यक पर्दछ । नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका सभामुख बाहेक १८ जना, जसपाका ३ र जनमोर्चाका १ जना गरी कुल ४१ जनाको हस्ताक्षर प्रदेश प्रमुख शेरचनसमक्ष बुझाइएको छ । हाल नेकपा एमालेका भने ३८ सांसद मात्र रहेका छन् । यसले विपक्षी गठबन्धनमा बहुमत पुग्ने निश्चित देखिएको छ भने मुख्यमन्त्री पोखरेल अल्पमतमा परिसकेको देखिन्छ ।

यसअघि मुख्यमन्त्री पोखरेल विरुद्ध गत वैशाख ६ गते विपक्षी दलहरुले नै अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर उनले केन्द्रमा ओली सरकारजस्तै छलछाम गर्दै प्रदेशसभाको अधिवेशन अन्त्य गरेर आफूले पनि पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै एकल बहुमतको सरकारको दाबी पेश गरेपछि तत्कालीन प्रदेश प्रमुख र्मनाथ यादवले पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेका थिए । हाल प्रदेश प्रमुख फेरिएर शेरचनलाई नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV