१७ श्रावण २०७८, आईतवार

काठमाडौं । पदीय संरचना र दरबन्दीमा कुनै हेरफेर नभए सशस्त्र प्रहरी बलमा हालका महानिरीक्षक (आईजीपी) शैलेन्द्र खनालपछि उनकै ब्याचका एक जना र त्यसपछि अर्काे ब्याचका दुई जना नेतृत्वमा पुग्ने देखिएको छ । उमेर हद, सेवा अवधि र पदावधि गरी तीनवटा अवकाशको व्यवस्था रहेको सशस्त्र प्रहरीमा यस्तो अवस्था बिरलै आउने गर्छ ।

वर्तमान आईजीपी शैलेन्द्र खनालको चारवर्षेे सेवा अवधि (आईजीपीको कार्यकाल) सकिएपछि छोटो समयका लागि उनकै ब्याचका एक जना नेतृत्वमा पुग्ने बाटो खुला भइसकेको अवस्थामा फेरि अर्काे ब्याचका दुई जना सशस्त्रको नेतृत्वमा रहने देखिएको छ ।

साढे दुईवर्षे आईजीपीका हकदार प्रवीणकुमार श्रेष्ठलाई नायब महानिरीक्षक (डीआईजी)बाटै जबर्जस्ती घर पठाइएपछि यो स्थिति आएको हो ।

सशस्त्र प्रहरीमा आईजीपीको अवकाश ५८ वर्ष उमेर हद, ३० वर्षेे सेवा अवधि र चार वर्ष पदावधिका कारण हुने गर्छ । यी तीनमध्ये जुन पहिला पूरा हुन्छ, त्यहीअनुसार अनिवार्य अवकाशमा जाने व्यवस्था छ ।

हालका आईजीपी खनाल भने आईजीपीको चारवर्षेे पदावधिका कारण आगामी २८ चैतमा घर जाँदै छन् । १९ वैशाख २०४९ मा नेपाल प्रहरीको निरीक्षक पदमा सेवा प्रवेश गरेका उनको ३० वर्षेे सेवा अवधि १८ वैशाख २०७९ मा सकिने भए पनि आईजीपीको चारवर्षेे पदावधिका कारण उनले २१ दिनअगावै अवकाश पाउने भएका हुन् । उनले २८ चैतमा अवकाश पाएपछि २१ दिनका लागि खनालकै ब्याचका पुष्पराम केसी र रामशरण पौडेलमध्ये एक जना नेतृत्वमा पुग्नेछन् । ३० वर्षेे सेवा अवधिका कारण सशस्त्र प्रहरीमा यसअघि किशोरकुमार लामा १४ दिने आईजीपी बनेका थिए । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV