१६ श्रावण २०७८, शनिबार
  • बाल बिक्रम कार्की,

रौतहट । रौतहटमा आईटी आर्मीले शक्ति प्रदर्शन गरेको छ । आईटी आर्मीले सयौंको संख्यामा मोटरसाइकल -यालीसहित जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गरेको थियो । उक्त -यालीमा जिल्लाका विभिन्न स्थानीय तहहरुबाट ठूलो संख्यामा युवाहरु मोटरसाइकलसहित सहभागी भएका थिए ।

यसरी विभिन्न स्थानीय तहबाट आएका -यालीहरु जिल्लाको मध्यभागमा रहेको गरुडामा एकीकृत हुँदै वालचनपुरसम्म पुगेको आईटी आर्मीका राष्ट्रिय संयोजक चन्द्रभूषण साहले जानकारी दिए ।

मोटरसाइकल -यालीमा सवारहरुले समाजमा व्याप्त वेथिति, विसंगती, ढिलासुस्ती, भ्रष्टचारविरुद्ध नारावाजी गर्दै त्यसको निकारणको लागि आईटी आर्मी आइसकेको सन्देश दिएको उनको भनाइ छ ।

उनले सूचना प्रविधिको प्रयोग गरेर नयाँ युग निर्माण गर्ने लक्ष्यका साथ गठित आईटी आर्मीले समाजको विकृति, विसंगति विरुद्ध जनचेतना अभिवृद्धि गर्दै भ्रष्टाचार, कुशासन, अराजकता, दण्डहीनता एवं अस्थिरताविरुद्ध खबरदारी गर्दै सुशासनयुक्त समाज निमार्णमा महत्वपूर्ण, हस्तक्षेपकारी र निर्णायक भूमिका खेल्ने दाबी गरे ।

सो संगठनका जिल्ला संयोजक नरेश साह तुरहाले आईटी आर्मी समाजमा व्याप्त शोषण, दमन, भेदभाव, सामाजिक विभेद, उत्पीडनको अन्त्य गर्दै सदाचार र सद्भावयुक्त समाजको निमार्णमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले आईटी आर्मीले नकारात्मक गतिविधिहरुको बारेमा जनतालाई सुसूचित गराउँदै सकारात्मक कार्यहरुको प्रचारप्रसार गर्ने लक्ष्य लिएको बताउँदै आवाज विहीनको आवाज अब आईटी आर्मी बन्ने ठोकुवा गरे ।

त्यस्तै, आईटी आर्मीका संरक्षक पूर्वमन्त्री प्रभु साहले मुलुकमा व्याप्त भ्रष्टाचार, सरकारी आंतक तथा लाल गद्दारीका विरुद्ध रौतहटमा युवाहरुको ऐतिहासिक प्रदर्शन गरेको भन्दै आर्मीका युवाहरुको विशेष पहलमा गरिएको सो मोटरसाइकल ¥यालीले देशलाई नितान्त नयाँ सन्देश दिएको बताए ।

उनले आईटी आर्मी समाजवादी विचार मान्ने सम्पूर्ण वामपन्थी पार्टीप्रति सहानुभूति राख्ने स्वतन्त्र वामपन्थी संगठन रहेको जनाउँदै अब देशभरीनै आईटी आर्मीको लहर छाउने भन्दै सबैलाई हातेमालो गर्दै वेतिथि, विसंगती विरुद्ध हातेमालो गर्दै अगाडि बढ्न आग्रह गरे । रौतहट जिल्लाका विभिन्न स्थानीय तहहरुमा आईटी आर्मीको गठन भइरहेको सो संगठनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV