१६ श्रावण २०७८, शनिबार
  • हरिशंकर शर्मा,

वीरगञ्ज (पर्सा) । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पोखरीया नगरपालिकामा ‘परिश्रममा आधारित सामुदायिक योजना तथा युवा रोजगारी’का लागि आएको करोडौंको बजेटमा जनप्रतिनिधिहरुले लुट नै मच्चाएका छन् ।

प्रधानमन्त्री रोजगार योजना अन्तर्गत पोखरीया नगरपालिकामा ४ सय ३९ जनालाई ५० दिनको लागि काम दिइएको पोखरीया नगरपालिका प्रधानमन्त्री रोजगार कार्यक्रमका शाखा प्रमुख विजय साहले बताए । उक्त कार्यक्रमका लागि आएको २ करोड २७ लाख रुपैयाँ बजेटमार्फत् प्रत्येक ब्यक्तिलाई १०० दिन रोजगारी दिनुपर्नेमा नगरपालिकाले ५० दिनको मात्र रोजगारी दिएको थियो ।

त्यसमा पनि ३५ दिनमै पोखरीया नगरपलिकामा काम सम्पन्न गरी ५० दिनको हाजिरी बनाएर लाखौं रुपैयाँ जनप्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा हिनामिना भएको पाइएको छ । नक्कली हाजिरी खडा गरी ५० दिनमध्ये ३५ दिनको रकम सम्बन्धित व्यक्तिलाई दिइएको र अन्य रकम काम गर्ने व्यक्तिको खातामा जम्मा गरेर उनीहरुसँग खाली चेकमा सही गराएर जनप्रतिनिधि तथा कर्मचारीहरुले बैकबाट १५ दिनको पैसा निकालेर भागबण्डा नै गरेको प्रमाण भेटिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पोखरीयाका नेषा खातुन, नाजमा खातुन, उर्मिला देवी, शैलेश साह कानु, नसिम आलम, रुपा देवी कानु, जगतारण पासवान, शिवजी साश कानु, राज किसोर महतो नुनिया, ईजहार मिया तेली, श्री किसुन महतो नुनिया, अजिज मिया तेली, कमरोदिन मिया तेली, सहबदिन मिया धुनिया, उमेश साह कानु, दिनानाथ साह कलवार, प्रमोद महतो नुनिया, हेमु महतो नुनिया, सोनालाल साह कलवार, राजकुमार महतो नुनिया, भविक्षण साह तुरहा, जोखु राम चमार, माया देवी कलवार, मताब मिया तेली, ठग महरा चमारलगायतका व्यक्तिहरुलाई ३५ दिन काममा लगाएर ५० दिनको हाजिरी गरी १५ दिनको रकम भने उनीहरुलाई खाली चेकमा सही छाप गराएर लिएको पीडितहरुले बताएका छन् ।

पोखरीया नगरपालिकाका नगरप्रमुख दिपनारायण रौनियार लगायत १० वटै वडाका वडा अध्यक्षहरु, वडा सदस्यहरु, बोर्ड प्रतिनिधि र कर्मचारीहरुको मिलोमतोमा करोडौंको रकम हिनामिना गरिएको बताइएको छ ।

गरीब जनताको लागि रोजगार दिन आएको कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीको मिलोमतोमा भएको चरम भ्रष्टाचारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पीडितहरुले उजुरी दिने तयारी गरिरहेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV