१६ श्रावण २०७८, शनिबार

एजेन्सी । दक्षिण कोरिया जानको लागि भाषा परीक्षा पास गरेर बसेका कैयौं नेपाली कामदारहरू नेपालमा नै थन्किरहेका छन् ।

उनीहरु कहिले दक्षिण कोरिया छिर्न पाउछन् भन्ने अझै पनि निश्चित भइनसकेको अधिकारीहरूले बताएका छन्। कोरोनाभाइरस महामारीका कारण उनीहरु रोजगारीका लागि कोरिया जान नपाएका हुन् । दक्षिण कोरियामा कामदार पठाउन सहजीकरणको लागि आवश्यक कार्य अघि बढाइएको जनाइएको छ ।

मन्त्रालयका अनुसार यसै साता अर्थमन्त्री जनार्दन शर्मासंगको भेटमा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चङ सुकले भाषा परीक्षा उत्तीर्ण गरेका नेपालीलाई कोरिया पठाउन पहल गर्ने आश्वासन दिएको छ।

राजदूत पार्कले रोकिएको ईपीएसको काम अघि बढाउन आफूले पहल गर्ने वचन दिएका छन् । उनले नेपालीहरूको मेहनत र इमानदारीबाट कोरियाली रोजगारदाताहरू खुसी रहेको भन्दै भाषा परीक्षा उत्तीर्ण गरी पालोमा बसेका श्रमिकहरूलाई काममा पठाउने प्रक्रिया अघि बढाइने जानकारी दिए ।
हाल कोरियाले नेपालललाई येलो जोनूमा राखेको र अब भने ग्रीन जोन अर्थात् नेपालीले कोरिया भ्रमण गर्न पाउने सूचीमा राख्ने आश्वासन दिइएको जनाइएको छ ।

त्यसबाहेक दक्षिण कोरिया सरकारले नेपालबाट कुनै पनि ट्रान्जिट नभईकन कामदार सीधै कोरिया पुग्नुपर्ने, कोभिड १९ का लागि कम्तीमा ५,००० अमेरिकी डलरको स्वास्थ्य बीमा गरेको हुनुपर्ने र कोरिया पुगेर १४ दिन क्वारन्टीनमा बसेको होटलको खर्च कामदारले बेहोर्नुपर्ने आदि सर्तहरु रहेको अधिकारीहरूले बताएका छन् ।

यस्तै इजरेलमा नेपाली कामदार पठाउने प्रक्रिया पनि सुरु भइसकेको अधिकारीहरूले जानकारी दिएका छन्। दुई सरकारबीचको सम्झौता अर्थात् जीटुजीमार्फत् इजरेलमा कामदार पठाउने प्रक्रिया सुरु भइसकेको जनाइएको छ ।

यस्तै जापानमा पनि नयाँ क्षेत्रमा कामदार पठाउन नेपाल सरकारले छलफल अघि बढाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV