१६ श्रावण २०७८, शनिबार

झापा । झापामा पछिल्लो समय कोरोना संक्रमण दर तिब्र गतिमा फैलन थालेपछि आज राती १२ बजेबाट लागू हुनेगरी जिल्लाभर पूर्ण सिल गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि साउन १६ गते शनिबार राति १२ बजेदेखि साउन २३ गते शनिबार राति १२ बजेसम्म पूर्ण सिल गर्ने निर्णय गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए ।

कोरोना संक्रमण अनियन्त्रित भएपछि यसअघि नै झापाको मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा ,बिर्तामोड र झापा गाउँपालिका सिल गरिएको थियो ।

सिल गरिएको अवधिभरका लागि औषधी, स्वास्थ्य सामग्री, ईन्धन बाहेकका अन्य पसल तथा व्यवसाय पूर्ण रुपमा बन्द गर्ने बताइएको छ । तरकारी, फलफुल, माछामासु विहान ६ बजेदेखि ८ बजेसम्म बिक्री गर्न पाइने डीसीसीएमसीले जनाएको छ ।

अहिले सञ्चालन भइरहेका परीक्षाका लागि आवश्यक सहजीकरण गर्ने निर्णय भएको छ ।

अत्यावश्यक बाहेक सिल गरिएको समयमा कसैले पनि अवज्ञा गरे कानुन बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV