१६ श्रावण २०७८, शनिबार

 

काठमाडौं । चीनको नान्जिङ सहरबाट कोरोना भाइरस अन्य प्रान्तमा पनि फैलिएको छ ।

नान्जिङमा भाइरस फेला परेपछि अरु पाँच प्रान्त र राजधानी बेइजिङसम्म विस्तार भएको छ । विज्ञले अहिलेको अवस्थालाई वुहानपछिको सबैभन्दा खराब अवस्थाको संज्ञा दिएका छन् ।

गएको जुलाई २० मा नान्जिङ विमानस्थलमा एक जनामा कोरोना भाइरस फेला परेको थियो । त्यसपछि झन्डै दुई सय जना सङ्क्रमित भइसकेका छन् ।

सङक्रमण फैलिएका सहरमा व्यापक परीक्षण सुरु भएको छ । सहरका ९३ लाख बासिन्दा र आगन्तुकको परीक्षण गरिने चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ । कोरोना भाइरसको अतिसङ्क्रामक डेल्टा भेरियन्टका कारण सङ्क्रमण फैलिएको हो ।

भाइरस चङ्दु र बेइजिङसहित १३ वटा सहरमा फैलिसकेको पुष्टि भएको छ । अहिले प्रारम्भिक चरण भएकाले नियन्त्रण गर्न सकिने विज्ञहरूले बताएका छन् ।

सरकारी निकायले परीक्षण गराउन जाँदा मास्क लगाउन, एक मिटरको दूरीमा उभिन तथा पालो कुर्दा अरूसँग कुरा नगर्न आग्रह गरेका छन् । सङ्क्रमण भएका व्यक्तिले खोप लिएका थिए कि थिएनन् स्पष्ट भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV