१५ श्रावण २०७८, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसले दार्चुलामा भारतीय एसएसबीका जवानले तुइन काट्दा नेपाली युवा महाकाली नदीमा बेपत्ता भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ती जारी गरी नदी तर्ने क्रममा तुइन काटिदिएपछि ३५ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएको घटना अत्यन्तै दुःखद मात्रै नभएर अमानवीय र अत्यन्तै आपत्तिजनक रहेको जनाएका छन् ।

दार्चुलाको व्यास गाउँपालिकाबाट भारत उत्तराखण्ड राज्यको पांगल हुँदै खलंगा आउँदै गर्दा तुइनबाट महाकाली नदी तर्ने क्रममा जयसिंह धामी नदीमा बेपत्ता भएका थिए ।

जारी विज्ञप्तीमार्फत् प्रवक्ता शर्माले घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन÷दिलाउन सरकारसँग माग गरेका छन् ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘आफ्नो नागरिकको जीवन सुरक्षा गर्ने दायित्व बोकेको सरकारले यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिएर आवश्यक गम्भीर पहलकदमी गर्ने विश्वास लिएको छु ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV