१५ श्रावण २०७८, शुक्रबार

काठमाडौं । साउन १५ खीर खाने दिनका रुपमा चिनिन्छ । घरघरमा खीर पकाएर खाने प्रचलन रहेको छ । शुक्रबार भने खीर खाने प्रसंगमा राजनीतिक वृत्तमा अलि फरक माहोल नै देखियो ।

दृश्य थियो–नेकपा एमालेको मुख्यालय थापाथलीको । एमालेले राजनीतिक भेटघाटसँगै खीर खाने कार्यक्रम पनि आयोजना गरेको थियो । कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित थिए । महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली, पूर्व मन्त्री लालबाबु पण्डित, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाललगायत थुप्रै नेताहरु पालैपालो आइरहेका थिए ।

 

 

आन्तरिक कलहमा फसेको पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाल त नआउने नै भए । साथै, उनीनिकट कुनै पनि नेता कार्यकर्ताहरु थापाथलीमा गएनन् । यसअघिका यस्ता कार्यक्रममा उनीहरु उपस्थित हुने गरेका थिए । तर, पार्टीमा द्वन्द्वका कारण उनीहरु उपस्थित भएका थिएनन् ।

कार्यक्रममा खीर खाँदै पार्टी एकताबारे थुप्रै कुराहरु भए । प्रायः उपस्थित नेताहरु उभिएर खीर खाइरहेको देखिन्थे ।

केही नेताहरु भने खीर खाँदै मजाक गरिरहेको पनि सुनिन्थ्यो । सञ्चारकर्मीसँग एक नेताले भने खुबै हँसाए, ‘यसपाली पार्टी एकता गरिन्छ, तीजमा झम्, झम नाचिन्छ ।’

अर्का नेतालाई भने सञ्चारकर्मीले सुरुमै ठट्यौँली प्रश्न गरे–‘तपाई घरका परिवारसँग एक्लै खीर खाँदै हुनुहुन्थ्यो रे त !’ त्यसपछि एकछिन हाँसोमय वातावरण छायो ।

खीर खाएपछि महासचिव ईश्वर पोखरेलले पार्टी एकतामा झन् टकरावहरु देखिएको र कार्यदलले तयार पारेको १० बुँदेबाहेक अन्य विकल्प नरहेको बताए । उनले भने, ‘पार्टी एकता गर्न गठित कार्यदलले तयार पारेको १० बुँदेअनुसार हामी अघि बढ्नुपर्छ । तर, पार्टी एकता गर्न पार्टी अध्यक्षले तदारुक्ता देखाए पनि पछिल्लो समय त्यसलाई निष्क्रिय पारेको देखिन्छ ।’

कार्यदलमा संलग्न दुवै पक्षका संयोजक एवं सदस्यहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा उनले धन्यवाद दिएका छन् । र, अब पार्टी एकतामा ढिलाई गर्न नहुने उनको भनाइ छ ।

यसैगरी पार्टी एकताबारे शुक्रबार बेलुकीसम्म केही खबर सुन्न सकिने उनले बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV