१५ श्रावण २०७८, शुक्रबार

काठमाडौं । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर ९ लोखिमलाई दुई वटा वडामा विभाजन गर्ने वडाध्यक्ष भुपालसिंह राईको एकल निर्णयप्रति लोखिमका विभिन्न संघसंस्थाहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

शुक्रबार ‘लोखिम सरोकार समाज’, ‘लोखिम आम जनसमुदाय’लगायतले प्रेस विज्ञप्ती जारी गरी वडा नम्बर ९ लोखिमलाई अबैज्ञानिक सीमाङ्कनसहित दुई वटा वडामा विभाजन गर्ने वडाध्यक्ष राईको एकल र मनोमानी निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘वडाअध्यक्ष स्वयंले २०७८ साउन २ गते आफ्नै फेसबुकमा सेयर गरेको स्टाटस र मिति २०७८ साउन ४ गते हिमाल एफ एममा वडा विभाजन सम्बन्धी दिएको अन्तर्वार्ताले वडा विभाजन प्रक्रिया अगाडि बढाएको प्रष्ट पार्दछ । वडा विभाजन र अबैज्ञानिक सीमाङ्कनबारे गाउँका राजनीतिकर्मी, समाजसेवी, बुद्धिजिवी तथा आम जनतामाझ छलफल र समन्वय नै नगरी आफूखुसी मिति २०७८/०३/१० गतेको गाउँ परिषद्मा प्रस्ताव पेश गरी उक्त प्रस्ताव पारित गरेको खुल्न आएको छ ।’

अबैज्ञानिक सीमाङ्कनसहित वडा विभाजन गर्ने वडाध्यक्ष राईको एकल निर्णयले नागरिक सर्वोच्चाताको अपमान भएको र लोखिमबासीलाई सूचनाको हक अधिकारबाट समेत बञ्चित गराएको प्रष्ट भएको लोखिम सरोकार समाजले जारी विज्ञप्तीमा उल्लेख गरेको छ ।

जारी विज्ञप्तीमा थप भनिएको छ, ‘आफ्नो ब्यक्तिगत फेसबुकबाट वडा विभाजन सम्बन्धी सेयर गरेको स्टाटस र हिमाल एफएममा दिएको अन्तर्वार्ताबाहेक अन्य आधिकारिक रुपमा लोखिमबासी जनतालाई वडा विभाजन सम्बन्धी कुनै जानकारी नदिएको, वडा विभाजन सम्बन्धी जनताहरुसँग कुनै किसिमको आधिकारिक छलफल नगरेको, बैठक नबसेको र परामर्शसमेत नलिएकोबाट प्रष्ट हुन्छ कि यो सरासर वडाध्यक्षको एकलौटी मनोमानी निर्णय हो ।’

वडाध्यक्ष राईले वडा विभाजन सम्बन्धी गाउँसभामा प्रस्ताव राखी पारित गरेपछि मात्र उक्त जानकारी फेसबुक स्टाटस र हिमाल एफएममा दिएको अन्तर्वार्ताबाट सार्वजनिक भएको लोखिम सरोकार समाजले जनाएको छ । साथै, जनप्रतिनिधिहरुले आम जन सरोकारको विषयमा निर्णय गर्दा त्यसको बैज्ञानिक आधार र कारणसहित गर्नुपर्ने उल्लेख गर्दै वडाध्यक्ष राईले प्रतिकुल वडा विभाजन सम्बन्धी निर्णय गरी प्रदेश सभामा पठाएको उक्त निर्णय कार्यान्वयन नगर्नका लागि प्रदेश सरकार र नेपाल सरकार समक्षसमेत अपीलसमेत गरेको छ ।

साथै समाजको आग्रहलाई नजरअन्दाज गरेर वडा र सम्बन्धित निकायहरु सत्ता र शक्तिको भरमा जबरजस्ती अगाडि बढाएमा त्यसको विरुद्ध उत्पन्न हुने जुनसुकै अप्रिय परिस्थितिको जिम्मेवार स्वयं वडाध्यक्ष र सम्बन्धित संयन्त्रहरुनै रहने स्पष्ट पनि पारेको छ ।

त्यसोत, यस अगाडि नै वडा विभाजन गर्ने वडाध्यक्ष राईको एकल निर्णयप्रति ‘लोखिम शेर्पा समाज’ले पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । साथै, वडाध्यक्ष राईले वडा विभाजन सम्बन्धी पेश गरेको प्रस्ताव (माइन्यूट) यथाशीघ्र फिर्ता नलिए सर्वोच्चमा रिट हाल्ने बताइसकेको छ ।

‘लोखिम सरोकार समाज’ को प्रेस विज्ञप्ती

 

‘लोखिम आम जनसमुदाय’को प्रेस विज्ञप्ती

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV