१५ श्रावण २०७८, शुक्रबार

काठमाडौं । वैदेशिक रोजगारीमा जानेहरुका लागि प्राथमिकताका आधारमा कोरोनाविरुद्धको खोप उपलब्ध गराउने सरकारी प्रतिबद्धता तुहिएको छ । विदेश उड्न भनेर जोन्सन एण्ड जोन्सनको खोप लगाउन बिभिन्न अस्पतालहरुमा पुगेकाहरु श्रमिकहरु निराश बनेका छन् ।

खोप लगाउन मध्यरातिदेखि नै लाइनमा बसेकाहरुले दिउँसो १२ नबज्दै खोप सकिएको जानकारी पाएर लाइन छोड्नु पर्दा आफुहरुलाई अभागी ठान्न थालेका छन् । वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र उस्का मातहतका निकायहरुले प्राथमिकताको आधारमा कोरोनाविरुद्धको खोप उपलब्ध गराइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आग्रह गरेका थियो ।

मुख्य श्रम गन्तव्य मुलुकहरुले अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोन्सन एण्ड जोन्सनको खोपलाई मात्र मान्यता दिने बताएपछि नेपालमा पनि वैदेशिक रोजगारीमा जानेहरुका लागि जोन्सन एण्ड जोन्सन कम्पनीको जानसेन खोप लगाइदिने निर्णय भएको थियो ।

संयुक्त अरब इमिरेट्स युएइले मात्र सिनोफर्म कम्पनीको उत्पादन अर्थात भेरोसेललाई मान्यता दिएपनि अन्य देशमा जानेहरु र तत्काल उडनु पर्नेहरुका लागि भेरोसेल उपयुक्त मानिदैन । तर अब जानसेन खोप पनि सकियो भनेर लाउन नपाउने भएपछि सयौं युवाहरुको रोजगारी पनि गुम्ने सम्भावना बढेको छ ।

वैदेशिक रोजगारीमा गएका नेपालीले पछिल्लो आर्थिक वर्षमा मात्रै झन्डै ८ सय ७५ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका थिए । राष्ट्रको ढुकुटीमा यसरी उर्जा भर्नेहरु नै उपेक्षित बनेपछि यस्को असर सरकारी ढुकुटीमा पर्ने सम्भावना समेत देखिएको छ ।

श्रम गन्तव्य सबै मुलुकले बनाए खोपलाई अनिवार्य सर्त

मुख्य श्रम गन्तव्य मुलुकहरूले कामदारका लागि कोरोनाविरुद्धको खोपलाई अनिवार्य सर्त बनाउँदै कामदार लिन बन्द गरेका छन् । नेपालमा समेत कोरोना महामारी बढेपछि नेपाली युवाहरुको आकर्षक गन्तव्य बनेको दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स यूएई, मलेसिया र कुवेतले नेपालबाट कामदार लिन बन्द गरेका छन् ।

दक्षिण कोरियामा कामदार पठाउने प्रक्रिया भने २०७६ फागुन २१ देखि नै स्थगित छ । नेपाललाई दक्षिण कोरियाले अझै पनि कोरोना महामारी अति संवेदनशील सूचीबाट हटाएको छैन् । जस्को कारण पहिला उड्न ठीक परिसकेका सयौं युवाहरु नेपालमा नै रोकिएका छन् । स्मरणीय छ, कोरियाबाट मात्रै वार्षिक रूपमा झन्डै ६३ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रने गरेको छ ।

नेपालबाट कामदार लिन धमाधम रोकिदै

यसैगरी यूएईले गत वैशाख २३ देखि नेपालबाट कामदार लिएको छैन । कोरोनाको ठूलो मारमा परेको भारतलाई भने उसले खुला गरेर धमाधम कामदार लगिरहेको छ ।

गत बर्षको कात्तिक यता मात्रै यूएईको अर्धसरकारी कम्पनीले २९ हजार कामदारलाई रोजगारी दिने भन्दै नेपाली दूतावासमा मागपत्र प्रमाणीकरण गरेको थियो । तर दुर्भाग्य कामदार छनोट गरी उडाउने बेलामा यूएईले नेपाली कामदारमाथि प्रतिबन्ध लगायो ।

यूएईको स्वास्थ्य मन्त्रालयले गत असार ९ मा एउटा सूचना जारी गर्दै फाइजर–बायोटेक, स्पुतनिक–५, सिनोफार्म, अक्सफोर्ड– अस्ट्राजेनेकाको खोपलाई मात्रै मान्यता दिने बताएको छ ।

कुवेतमा पनि नेपालीलाई कडाई

कुवेतले आगामी साउन १७ गतेदेखि खोप लगाएका कामदार मात्र लिने भएको छ । कुवेत प्रवेशका लागि अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर, मोडर्ना र जोन्सन एन्ड जोन्सनको खोप अनिवार्य गरिएको छ ।

यता कुवेत जानका लागि खोप लगाएकाहरुले क्युआरकोड अर्थात खोप लगाएको प्रमाण नपाएपछि बिहीबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा धर्ना नै दिएका छन् ।

क्वारेन्टाइन बस्नु परे महंगो

यता साउदी अरेबिया, कतार, बहराइन र ओमानले भने क्वारेन्टाइनमा बस्ने सर्तमा मात्र कामदार लान थालेका छन् । यद्धपि साउदी अरेबिया र कतारको पनि पहिलो प्राथमिकता खोप नै रहेको छ ।

खोप नलगाएका व्यक्तिलाई नबोक्न हवाई सेवा कम्पनीलाई आदेश

यता सबैभन्दा बढी नेपाली कामदारको माग भइरहेको साउदी अरेबियाले आफ्नो देश भित्रने हवाई सेवा कम्पनीहरुलाई खोप नलगाएका यात्रु नबोक्न निर्देशन दिइसकेको छ । अक्सफोर्ड–अस्ट्राजेनेका, फाइजर–बायोटेक, मोडर्नाको दुई डोज खोप र जोन्सनको एक डोज लगाएको यात्रुलाई मात्रै बोक्ने अनुमति साउदी अरेबिया भित्रने हवाई सेवा कम्पनीहरुलाई आदेश दिइएको छ ।

सरकारको आदेश जोन्सनको खोप नै देऊ

प्रमुख श्रम गन्तव्य मुलुकहरुले यसरी खोपको अनिर्वायता र खोप उत्पादक कम्पनी नै तोकेपछि त्यही अनुसारको तयारी नेपालमा पनि भएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जोन्सन एण्ड जोन्सन कम्पनीको खोप नै वैदेशिक रोजगारीमा जानेहरुका लागि उपलब्ध गराइदिन स्वास्थ्य मन्त्रालयलाई तोकता गरेको थियो ।

रोजगारी गुमाउने सम्भावना बढ्दै

तर खोप सकियो भनिएपछि विदेश उडन तयार रहेका सयौं युवाहरु देशभित्रै अलपत्र पर्ने सम्भावना बढेको छ । यदि सरकारले तत्काल खोप व्यवस्था गर्न नसके धेरै नेपाली युवाहरुलाई रोजगारी गुमाउने खतरा पनि बढ्दो छ । नेपालमा अहिले भेरोसेल र कोभाक्स सुविधा अन्तर्गतको जोन्सन एण्ड जोन्सन खोप मात्र उपलब्ध छ । तर त्यो पनि पर्याप्त मात्रामा छैन । जोन्सन एण्ड जोन्सनको अब बाँकी मौज्दात कति छ भन्ने पनि यकिन विवरण सार्वजनिक गरिएको छैन ।

अमेरिकी सरकारको सहयोगमा नेपाल ल्याइएको १५ लाख ३५ हजार ८ सय ५० डोज खोप मध्ये काठमाडौं उपत्यकामा हालसम्म करिब डेढ लाखले मात्र खोप लगाएको जानकारी सार्वजनिक गरिएको थियो ।

यता सबैभन्दा बढी नेपाली कामदार रहेकोे कतारमा भने दैनिक ४० हजारलाई खोप दिने कार्य भइरहेको छ । जस्ले गर्दा खोप नलगाएका पनि कतार जान सक्छन । तर उनीहरुले १० दिन क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान छ । खोप लगाएकाहरुले भने सोझै रोजगारदाता कम्पनीमा जान पाउछन् ।

( भिडियो )

प्रतिक्रिया दिनुहोस्

LIVE TV