१४ श्रावण २०७८, बिहीबार

काठमाडौं । गुठीको जग्गा मिलमतोमा हजम पार्न खोजिएपछि काठमाडौंका चपलीका स्थानीय वासिन्दाले सरोकारवाला सरकारी निकायसहित सञ्चार माध्यमको ध्यानाकर्षण गराएका छन् । निकै ठूलो चलखेलमा मुक्तेश्वर गुठी अन्तर्गत रहेको जग्गा व्यक्तिको नाममा लाने चलखेल अन्तिम अवस्था पुर्‍याइयो भन्दै स्थानीयवासीले हारगुहार मागेका छन् ।

कानूनत गुठीको जग्गा कुनै पनि व्यक्तिको नाममा सार्न पाइदैन । तर भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उच्च तहका अधिकारीको ठाडो आदेशमा मुक्तेश्वर गुठीको १ सय ८० दशमलव ५३ वर्गमिटर जग्गा डाक्टर रमेशकुमार आचार्यको नाममा पास गर्ने तयारी गरिएको छ ।

यस्का लागि नापी कार्यालय चावहिलले प्रतिवेदन समेत भूमि व्यवस्था, सहकारी र गरिबी निवारण मन्त्रालयमा पेश गरिसकेको छ ।प्रतिवेदनमा गुठीको जग्गा भोगचलनमा आएको नदेखिएको र हालको नक्सामा ओभरल्याप हुनु स्वभाविक भएको उल्लेख गर्दै आचार्यको जगमा गुठीको जग्गा घुसाउँदा फरक नपर्ने आशय उल्लेख गरिएको छ ।

एउटै जग्गाबारे नापी कार्यालयले गुठी संस्थानलाई लेखेको दुई फरक पत्र

नापी कार्यालयले मिति २०७८ साल बैशाख ९ गते मन्त्रालयलाई लेखेको प्रतिवेदनको प्रति पनि न्यूज २४ लाई प्राप्त भएको छ । सबभन्दा अचम्मको पक्ष चपली ६ ख कित्ता नम्बर १९७ को उक्त जग्गाको बारेमा नापी कार्यालय चावहिलले दुई फरक मितिमा गुठी संस्थानलाई दुई पत्र लेखेर फरक फरक व्यहोरा उल्लेख गरेको छ ।

जुन पत्र पनि प्रमाणसहित न्यूज २४ लाई प्राप्त भएको छ । पत्र पहिला २०७७ फागुन २५ गते लेखिएको थियो भने दोस्रो पत्र २०७७ चैत १ गते लेखिएको छ । दुबैपत्रमा किता नम्बर मिले पनि जग्गाको क्षेत्रफल भने तलमाथि पारिएको छ ।

जग्गा मिलाएर नाप्ने अर्थात आचार्यको जग्गामा घुसाएको देखाउँने गरी नाप्न लगाउँदा नमानेपछि यसअघि अमिन महेन्द्र विष्टको २४ घण्टाभित्र विभागमा सरुवा भएको थियो । त्यसपछि टीका नामका अमिन ल्याएर यो सबै किर्ते काम गराइएको थियो ।

यस विषयमा सम्बन्धित कर्मचारीहरुले नापी कार्यालयका प्रमुख र कर्मचारीहरुले यो विषयमा फाइल अगाडि बढाउन नमानेपछि उनीहरुलाई पनि भुमि व्यवस्था मन्त्रालयका उच्च अधिकृतको धम्की आएको समेत बताइएको छ । यस प्रकरणमा आवद्ध कर्मचारीको ध्यानाकर्षण गराउँदा भूमि व्यवस्था मन्त्रालयको सचिवलगायतका उच्चपदस्थ कर्मचारीको हात रहेको आफुहरु बोल्न नसक्ने बताए ।

उनीहरुले यो कार्य सरासर गुठी ऐन र कानूनको मर्म विपरित भएपनि दबाबमा काम गर्नु परेको उनीहरुको प्रष्टीकरण थियो । तर आफुहरु फस्ने अवस्था आए नाम खोलेर सबै पर्दाफास गर्ने चेतावनी पनि उनीहरुको थियो ।

चपलीका स्थानीयवासीहरुले भने यदि मुक्तेश्वर गुठीको जग्गा आचार्यको नाममा नामसारी भए पत्रकार सम्मेलन गरेर नै भण्डाफोर गर्ने चेतावनी दिएका छन् । उनीहरुले यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पनि ध्यानाकर्षण गराइसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV