१३ श्रावण २०७८, बुधबार
  • अजमल अन्सारी,

सुनसरी । बाँदरले तरकारी, अन्नबाली नष्ट पार्न थालेपछि सुनसरीको देवानगञ्ज गाउँपालिकाका किसानहरु त्रसित बनेका छन् । झण्डै दुई सयको हराहारीको समूहमा आएको बाँदरले खेतबारीमा लगाएको तरकारी र घरभित्रै पसेर अन्न पनि खाइदिन थालेपछि किसानहरु हैरान बनेका हुन् ।

देवानगञ्ज गाउँपालिकाको विशेषगरी वडा नम्बर ४ कप्तानगञ्ज गाउँका कृषकहरुलाई बढी बाँदरले हैरान पारेपछि कृषकको दिनचर्या बाँदर लखेट्नमै बित्ने गरेको छ । प्रशस्त कृषि बाली उत्पादन हुने उक्त क्षेत्रमा यस वर्ष बाँदर आतङ्कले उत्पादन लिनै नपाइएको कृषकको गुनासो छ ।

‘ठूलो समूहमा जङ्गलबाट आएको बाँदरले खेतमा खोतलेर अन्न खाएर सखापै पारेको, पडवल, बोडी, काक्रो खान्छन्, आधा खान्छन्, आधा बर्बाद गरेर छोड्दिने गरेका छन्, ‘कृषक सुरेन्द्र मेहताले भने ।

बाँदरले खेतमा लगाएको तरकारी, अन्नबाली सबै नष्ट गरेको स्थानीय मुंगालाल मेहताले बताउदै खेतमा भएको मात्रै नभई घरमा कोही नभएको बेला पनि घरभित्रको खाद्यान्न समेत खाने गरेको गुनासो पोखे । ‘कपडाहरु च्यात्न थालेका छन् । बाँदरका कारण हामीलाई धेरै समस्या भएको छ’, उनले गुनासो गरे ।

बाँदर आतंक नियन्त्रण गरिदिन स्थानीयहरुले नियन्त्रणका लागि गाउँपालिका र स्थानीय प्रशासनमा समेत निवेदन दिएका छन् । स्थानीयको गुनासोको विषयमा स्थानीय सरकार र स्थानीय प्रशासनले कुनैपनि चासो नदेखाएको, ठोस कदम नचालेको र उनका अनुसार गाउँपालिका अध्यक्षले पनि आफूले केही गर्न नसक्ने र यस्तो कार्यमा बजेट हाल्न मिल्दैन भन्ने गरेको स्थानीय रमेश प्रसाद मेहताले बताए ।

मान्छेलाई पनि आक्रमण गर्न थाल्यो

झण्डै दुई सयको समूहमा गाउँमा पसेका बाँदरले मानिसलाई नै आक्रमण गर्न थालेको रमेशप्रसाद मेहताले बताए । “घरमा वृद्धवृद्धा र बालबालिकालाई मात्र छोड्न नहुने अवस्था आएको छ । बाटोमा हिँड्दा, घरमा बस्दा ठूलो सङ्ख्यामा आएको बाँदरले मान्छे देखेपछि एक्कासि आक्रमण गर्न थालेका छन्’, उनले भने ।

जिल्लाको विभिन्न क्षेत्रमा पनि बाँदरले वर्षेनी सताउने गरेको छ । बाँदर नियन्त्रणका सम्बन्धमा सम्बन्धित निकायले चासो नदिएको मेहताले गुनासो गरे । “हामीले प्रत्येक वर्ष खेती लगाउँछौं तर भित्र्याउन पाउँदैनौं । यस्तो हाम्रो बाध्यता छ । हाम्रो समस्या कसले बुझिदिने भन्ने प्रश्न गरेका छन् ?“, उनले प्रश्न गरे ।

बाँदर धपाउनका लागि स्थानीयले ढ्याङ्ग्रो ठटाउने, मादल बजाउने लगायतका काम गरेपनि त्यसबाट बाँदर भाग्न नमानेको किसानहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV