१३ श्रावण २०७८, बुधबार
  • हरिशंकर शर्मा,

वीरगंज (पर्सा) । पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा कार्यरत लेखापालले डेढ करोड बराबरको फर्जी बिलको भुक्तानी गर्न नमान्दा सरुवा गरिएको छ । आर्थिक मसान्त सकिएसँगै विभिन्न शीर्षकमा पेश गरिएका डेढ करोड बराबरको फर्जी बिलको भुक्तानी गर्न नमानेपछि लेखापाल रामकुमार कुशवाहालाई पालिकामा हाजिर गर्न नदिई काठमाडौंमा हाजिर हुने गरी फिर्ता पठाइएको छ ।

गत असार मसान्तमा एक करोड ५० लाख रुपैयाँभन्दा बढीको फर्जी बिल बनाएर चेक काट्न दबाब दिइएकोमा भुक्तानीमा रोक लगाएपछि नगरपालिकाले काज फिर्ता पठाएको बताइएको छ । गत आर्थिक वर्षमा सामुदायिक विद्यालयहरूमा २० लाख रुपैयाँको सफ्टवेयर जडान गर्ने योजना अनुसार कामै नगरी भुक्तानीका लागि बिल पेस गरिएको थियो ।

यसैगरि व्यक्तिगत घटना दर्ता शिविर सञ्चालन नै नगरी १२ लाख रुपैयाँको बिल पेश गरिएको थियो । कोरोनाको दोश्रो लहरको क्रममा नगरपालिकाले सञ्चालन गरेको मिनी आइसोलेशन, खाजा नास्ता खर्च वापत भनेर १० लाख बढीको फर्जी बिल पेश गरेको पाएपछि लेखापाल कुशवाहाले भुक्तानीमा रोक लगाएका थिए ।

त्यस्तै, ४५ जना ज्येष्ठ नागरिकलाई सय रुपैयाँको फलफूल वितरण गरी ५ लाख रुपैयाँको बिल पेस गरिएको थियो । एक कन्सल्टेन्सीसँग पाँचौं नगरसभामा विनियोजन विधेयक प्रस्तुत गर्न लगाई ५ लाख रुपैयाँको बिल पेस गरिएको थियो । यस्ता विभिन्न किसिमका फर्जी बिल पेश गरेर भुक्तानी गर्न दबाब दिदा लेखापाल कुशवाहाले नमानेपछि उनको सरुवा गरिएको हो ।

अर्कोतर्फ असारमै निकालिएको १ करोडको कोटेसन गोप्य राखी बाराको एक फर्मसँगको मिलेमतोमा बीउबिजन, धारा, अर्गानिक मल, मोटर, ह्युमपाइप खरिद गरेको भन्दै बिल प्रस्तुत गरिएको थियो । उक्त भुक्तानी समेत लेखा शाखाले रोकेको थियो । धारा नै खरिद नगरी ३० लाख रुपैयाँको बिल बनाएर ल्याइएको शाखाको भनाइ छ ।

यता नगरपालिकाका नगर प्रमुख लोकनारायण यादवले पत्रकार सम्मेलन गरि नगरपालिकालाई बदनाम गर्न जनमानसमा भ्रम सिर्जना गर्ने विपक्षीले राजनीतिक स्वार्थ सिद्ध गर्न खोजेको आरोप लगाएका छन् । फर्जी बिल पेश भएको भन्ने कुरा नै गलत रहेको भन्दै फर्जी बिल एउटा पनि पेश नभएको उनको दाबी छ ।

विभिन्न सञ्चार माध्यममा आएका सफ्टवेयर जडान बापतको रु २० लाखको बिल पेश नै नभएको दाबी गरे । यसैगरि शिविर सञ्चालनको विषयमा सम्पूर्ण वडामा शिविर सञ्चालन गरिएको उनको दाबी छ ।

भुक्तानी नगरिएको कारण लेखा अधिकृत रामकुमार कुशवाहको सरूवा गरेको आरोप निराधार रहेको भन्दै नगर प्रमुख यादवले लेखापाल कुशवाहाले आफैले सरुवा माग गरे अनुसार संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले उनको सरुवा गरेको नगर प्रमुखले दाबी गरे ।

नगर प्रमुख यादवले आर्थिक वर्षको अन्त्यमा २०७८ जेठ २ गतेका दिन तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शालिक राम ढकाललबाट १ महिने घरबिदा सहित अन्य बेवस्था गरि कार्यालय सञ्चालन गर्न भनी नगर प्रमुख समक्ष निवेदन पेश भए बमोजिम बैकल्पिक व्यवस्था गर्न बाध्य भई कार्यपालिकाको निर्णयअनुसार मन्त्रालय नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृतमा भरत प्रसाद यादवलाई जिम्मेवारी दिइएको बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV