१३ श्रावण २०७८, बुधबार
  • युवराज आचार्य,

झापा । जनताको मुक्तिका लागि झापा विद्रोहमा अगुवाई गर्ने मध्येका एक सानो दुर्गा अधिकारीले बल्ल नयाँ घर पाएका छन् । केपी ओलीसँगै आन्दोलन गरेर १७ वर्ष जेल जीवन बिताएका अधिकारीको घर माओवादी केन्द्रको सहयोगमा निर्माण सम्पन्न भएको हो ।

धुलाबारीको पुल छेउमा सडक पेटी नजिकै रहेको जग्गामा अधिकारीको घर निर्माण सम्पन्न गरी बुधबार चावी हस्तान्तरण गरिएको छ । नयाँ घर बनाइदिएपछि विगत लामो समयदेखि डेरा गरी बस्दै आएका अधिकारी दम्पती वृद्धाअवस्थामै भएपनि आफ्नै नयाँ घरमा बस्न पाएका छन् ।

परिवर्तनका खातिर १७ वर्ष जेल जीवन बिताएका ७० वर्षीय अधिकारी पछिल्लो समय आर्थिक अवस्था कमजोर हुँदा कष्टकर जीवन बिताउन बाध्य छन् । आन्दोलनका क्रममा अधिकारी वर्तमान एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँगै २०३० सालमा पक्राउ परेका थिए ।

झापा, इलाम, वीरगञ्ज र काठमाडौँका विभिन्न जेलमा बसेका अधिकारी ओलीभन्दा ३ वर्ष बढी जेल बसेर २०४६ सालमा जेल मुक्त भएका थिए । अधिकारीसँगै जेल जीवन बिताएका ओलीसहित अन्य थुप्रै नेताहरू पछिल्लो समय देशको उच्च पदमा पुगिसकेका छन् ।

उनीहरूले ऐसआरम, सुख–सुविधा र विलासी जीवन व्यतित गरिरहँदा यता सानो दूर्गा अधिकारी भने बुढेसकालमा पनि दुःख र अभावका साथ कष्टकर जीवन बिताउन विवश छन् । झापा क्षेत्र नं. १ का संघीय सांसद राम कार्की (पार्थ)ले आफ्नो क्षेत्र विकास कोषमार्फत् ‘आवाजविहीनहरुका लागि आवास’ कार्यक्रम अन्तर्गत विनियोजित रकमबाट अधिकारीको घर निर्माण सम्पन्न भएको हो ।

पूर्व सञ्चारमन्त्री समेत रहेका सांसद कार्की माओवादी केन्द्रका सांसद हुन् । अधिकारीको घर निर्माण सम्पन्न गर्नका लागि सांसद् कार्कीमार्फत ३ लाख १६ हजार रकम उपलब्ध भएको र बाँकी रकम स्थानीयबासी तथा श्रमदानबाट व्यवस्थापन गरी कुल ४ लाख रुपैयाँ खर्चेर निर्माण सम्पन्न गरिएको निर्माण समितिका संयोजक होमप्रकाश आचार्यले जानकारी दिए ।

तीन कोठाको उक्त घरमा बरण्डासहित शौचालय छ । घर निर्माण सम्पन्न भएसँगै जिउदो योद्धा सानो दुर्गा अधिकारीले विगतमा नेताहरुले आश्वासन मात्रै दिएर जाने गरेको बताए । उनले राम कार्की तथा माओवादीका नेता तथा कार्यकर्तालाई घर बनाइदिएकोमा धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV