१३ श्रावण २०७८, बुधबार

काठमाडौं । सांसदहरुले राष्ट्रिय गौरवका आयोजनामा भइरहेको ढिलाइ, बाढी पहिराका कारण भएको क्षति, आवश्यक कानून निर्माणलगायतका विषयमा स्थलगत अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समिति बैठकमा उनीहरुले कोरोनाका कारण विकास निर्माणका कामको अनुगमन तथा मन्त्रालयलाई आवश्यक निर्देशन हुन नसकेको भन्दै अव भने यस बिषयमा समितिले बिशेष ध्यान दिनुपर्ने बताए ।

बैठकमा समितिका सदस्य यज्ञराज सुनुवारले संसद् डेढ वर्षसम्म चल्ने देखिएकाले अबको एक वर्षको कार्ययोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमको स्थानीयस्तरमा महत्व भएकाले यसलाई निरन्तता दिनुपर्ने औंल्याए ।

त्यस्तै सांसद दुर्गा पौडेलले विगतमा अनुगमन गरेका आयोजनाको अवस्थाको बारेमा अनुगमन र समितिका बिगतको कामलाइ निरन्तरता दिनुपर्ने बताइन् ।

समिति सदस्य कमला रोक्काले विगतमा बजेट प्रधानमन्त्री, अर्थमन्त्री र मन्त्रीहरुको जिल्लामा मात्रै थुपारिने प्रवृत्ति देखिएकाले अबको समयमा दुर्गम जिल्ला तथा हिमाली क्षेत्रमा पनि वितरण हुनुपर्नेमा जोड दिइन् ।

समिति सभापति कल्याणी खड्काले अब समितिले बिकास निर्माणको कामको अनुगमन सुरु गर्ने र समितिलाई प्रभावकारी बनाउनुपर्ने बताइन् । सर्वोच्चबाट संसद पुनसर््थापना भएपनि समितिको पहिलो पटक बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV