१३ श्रावण २०७८, बुधबार
  • लक्ष्मी पाण्डे,

बारा । बारा प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित २ नम्बर पुल नजिक जर्गा होटल अगाडिबाट हात्तीको दाह्रासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जिल्लाको निजगढ नगरपालिका–११ रतनपुर बस्ने ३४ वर्षीय सूर्य प्रसाद तामाङ, ३५ वर्षीय दिलबहादुर घलान र मकवानपुरको हेटौंडा नगरपालिका–१३ पदमपोखरी बस्ने ३५ वर्षीय सुवास तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अम्लेखगञ्जबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको ना५०प १२२७ नम्बरको कालो रातो रङको २ सय २० सीसीको पल्सर मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार सूर्य प्रसाद तामाङले प्लाष्टिकको बोरामा लुकाएर राखेको अवस्थामा ३ फिट ८ ईन्च लामो, १ फिट गोलाई ८ किलो ४ सय ४० ग्राम वजन भएको हात्तीको दारा फेला परेको हो ।

उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् । हात्तीको दाह्रासहित पक्राउ परेका तीनै जनालाई आवश्यक कानूनी कारवाहीका लागि पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाइएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV