१३ श्रावण २०७८, बुधबार
  • धिरज दाहाल,

विराटनगर । विकास निर्माण कार्यमा विभिन्न बहाना देखाउँदै समयमा नै निर्माण सम्पन्न नगर्दा स्थानीयले सास्ती पाउनु सामान्य जस्तै बन्दै गएको छ । कोरोना महामारी, मजदुरको अभावलगायतका उदाहरण निर्माण कम्पनीका रेडीमेड जवाफ बनेका छन् ।

त्यस्तै बहाना र नियतिबाट विराटनगर–१८ देखि जहदा बोर्डरसम्मको झण्डै ८ किलोमिटर सडकखण्ड पनि अछुतो रहन सकेको छैन । प्रदेश सरकारको बहुबर्षीय योजना अन्तर्गत विराटनगर–१८ देखि जहदा बोर्डरसम्मको राम लक्ष्मण मार्ग नामाकरण गरिएको सडक खण्ड सम्झौता भएको २ वर्ष बित्न लाग्दा समेत सम्पन्न हुन सकेको छैन ।

२०७८ असोजसम्ममा निर्माण सम्पन्न गरिसक्नुपर्ने ठेक्का सम्झौता गरेको काठमाडौंस्थित ललितपुरको दिवा साह जे.भी.ले निर्माण कार्यमा लापरवाही गर्दा स्थानीयले सास्ती ब्यहोर्नु परेको छ ।

मोरङको जहदा गाउँपालिकाको विभिन्न वडा हुदै तरिगामा गोदामसम्मको उक्त सडकखण्ड निर्माण शुरु भएको २ बर्ष बित्न लाग्दा पनि २० प्रतिशत मात्र काम सकिएको छ । सडक निर्माण हुने भएपछि खुशी बनेका स्थानीय भएको ग्राभेल सडक समेत कालोपत्रे गर्ने भन्दै खनेर अलपत्र छोडिदिएपछि सास्ती ब्यहोर्न बाध्य बनेका हुन् ।

अस्तव्यस्त निर्माण कार्यका कारण एम्बुलेन्स, शव वाहनलगायतका अत्यावश्यक सवारी साधनको आउजाउ पुर्णतः ठप्प भएको स्थानीयले बताएका छन् । कोरोना महामारीको समय अनि बर्खाको यस्तो कहरमा भएको सडक पनि हिड्न नसकिने बनाएको भन्दै स्थानीय आक्रोसित बनेका छन् ।

२०७६ असोज १३ गते सम्झौता भएको उक्त सडकखण्ड प्रदेश १ सरकारको १९ करोड ९३ लाख ४० हजार रुँपैयाको बजेटबाट निर्माण हुँदैछ । सो सडकको ठेक्कामा स्टीमेट रकमभन्दा झण्डै २६ प्रतिशत न्यून कबोल अङ्कमा दिवा साहा जे.भि.ले सो ठेक्का हात पारेको थियो ।

तर, सम्झौताको २ वर्षमा निर्माण सक्नुपर्ने भएपनि हालसम्म सडक निर्माणको कार्यले गति लिन सकेको छैन । कोरोना महामारीको कारण देखाउँदै निर्माण कम्पनीले निर्माण कार्य पूरा गर्न नसकेको बहाना बनाएतापनि सरकारले बिकास निर्माणका कार्यमा अवरोध नपुग्ने ब्यवस्था गरेको थियो ।

राम लक्ष्मण सडकखण्ड सम्झौता भएको मितिदेखि २ बर्ष भित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने सर्त भएपनि हालसम्म सडक निर्माणमा देखिएको सुस्त प्रगतिमा अन्य कुनै बहाना कारण नभएको विराटनगरस्थित पुर्वाधार विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार कोरोना कालमा पनि सरकारले विकास निर्माण कार्यहरुलाई अवरोध नपुग्ने गरि आवश्यक व्यवस्था गरेको हुनाले निर्माण कम्पनीले आफ्नो कमजोरीलाई कोरोनाको बहाना बनाएको बताएको छ ।

सम्झौता भएको मितिदेखि हालसम्म सो सडकखण्डमा ड्रेन, कल्भर्ट र ठाउँठाउँमा सडक ग्राभेल गर्ने कार्य मात्र सम्पन्न भएको छ । ८ किलोमिटर सडकखण्डमा जताततै खाल्डा र हिलाम्मे सडक मात्र रहेको छ । तर, ठेकेदार कम्पनी दिवा साह जे.भि.ले भने हालसम्म ६ करोड ४१ लाख ७ हजार ८ सय रुँपैया बराबरको भुक्तानी लगिसकेको पुर्वाधार विकास कार्यालयको तथ्यांक छ ।

निर्माण कार्यमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीका कारण स्थानीयले दुःख पाएको यो घटना नौलो भने पक्कै होइन । देशभरीनै यस्ता निर्माण कम्पनीहरुका कारण स्थानीयले दुःख पाउने गरेका छन्, भने कतै कमसल सामग्रीको प्रयोग गरी निर्माण गर्दा संरचनाहरु निर्माणकै क्रममा ध्वस्त हुने गरेका उदाहरण पनि प्रसस्तै रहेका छन् ।

यसरी सम्झौता गरेर समयमा निर्माण नसक्ने र कमसल सामग्री प्रयोग गरी निर्माण कार्य गर्ने निर्माण कम्पनीहरुलाई कारवाहीको दायरामा ल्याएर जनतामा सुशासनको अनुभुत गराउन जिम्मेवार निकायले ध्यान पु¥याउन जरुरी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV