१३ श्रावण २०७८, बुधबार

काठमाडौं । गैडाको शिकार पश्चात खागको ब्यापार हुन्छ । तर खागको ब्यापार गर्ने र गैडा मार्ने ब्यक्ति प्रायः फरक फरक हुने गर्दछन् । निकुञ्ज प्रशासनलाई पनि शिकार गर्नेलाई पक्राउ गरेपनि खागको कारोबार गर्नेहरुलाई फेला पार्न भने मुश्किल पर्ने गर्छ । चितवन राष्ट्रिय निकुञ्जले पछिल्लो समय चलाएको गैडा चोरी शिकारीविरुद्धको एउटा मुद्दामा समेत यस्तै यस्तै भएको छ ।

उक्त मुद्दामा शिकारी भेटिएपनि खाग किनबेचबारे चितवन राष्ट्रिय निकुञ्जले गरेको जिकिरलाई उच्च अदालत पाटनले सत्य मानेन । चितवन राष्ट्रिय निकुञ्जले खाग किनबेचको आधार देखाएर मुद्दा लगाएका अभियुक्तहरु अदालतबाट सहजै रिहा भए ।

मुलुकी संहिताले संरक्षित वन्यजन्तु मार्ने र उनीहरुको अंग बेचविखन गर्नेहरुलाई धरौटीमा छाड्न नपाउने ब्यवस्था गरेको छ । तर गैडाको खाग तस्करीमा लागेकाहरु धरौटीमा नै छुटे । जस्ले गर्दा निकुञ्ज, सरकार र संरक्षणकर्मीहरु निराश बनेका छन् । उच्च अदालतको यो निर्णयविरुद्ध चितवन राष्ट्रिय निकुञ्जले भने सर्वोच्च अदालत जाने तयारी गरेको छ ।

खाग बेच्नेहरु सबै धरौटीमा रिहा, निकुञ्ज सर्वोच्च जाने

गैडा मारेर खागबिक्री गरेको मुद्दामा चितवन अदालतले पुर्पक्षका लागि थुनामा राख्नू भनेर गरेको आदेश चित्त नबुझेर नवीन पौडेल भनिने मेखबहादुर नेपाली, कैलाशबाबु आलेमगर र सोमबहादुर गुरुङले उच्च अदालतमा निवेदन दिए ।

उच्च अदालत पाटनको हेटौडा इजलासले असार २४ उनीहरू तीनै जनालाई नै जनही पाँचलाख रुपैया धरौटीमा रिहा गर्ने आदेश दियो । मुलुकी संहिताले धरौटीमा छाड्न नपाउने ब्यवस्था हुँदाहँुदै पनि अदालतले धरौटीमा छोडेको प्रति निकुञ्ज सर्वोच्च अदालत जाने तयारी गरेको छ ।

मारिनेको निवेदन सुनिएन, बेच्नेहरुको मात्र सुनियो

धरौटीमा रिहा भएका पाँच जनासहित चितवन जिल्ला अदालतको आदेश विरुद्ध अर्का अभियुक्त तारा चेपाङ भन्ने वीरमान प्रजाले पनि उच्च अदालतमा निवेदन दिएका थिए । उनको हकमा भने जिल्ला अदालतको आदेश नै उच्च अदालतले पनि सदर गरेको छ ।

निकुञ्जले दायर गरेको मुद्दामा चेपाङलाई गैंडा मार्ने शिकारी भनिएको छ । जो धरौटीमा छुटे उनीहरूमाथि खाग बेचेको आरोप छ । तारा चेपाङलगायतकाले गोली हान्ने, खाग झिक्ने काममा संलग्न रहेको र तारालगायतले तयार गरेको खाग मेखबहादुर, कैलाशबाबु र सोमबहादुरले लगेको अनुसन्धानले देखाउछ । त्यो खाग काठमाडौंका नाङ्गे तामाङ लामा र योन्देन ग्याम्जो तामाङको हातप¥यो ।

त्यसपछि त्यो खाग कर्मा तामाङ लामाले अर्का मुख्य व्यापारीको जिम्मा लगाए । यहि अनुसन्धानका आधारमा चितवन राष्ट्रिय निकुञ्जले मुद्दा दायर गरेकोमा अदालतले भने प्रमाण नपुग्ने भन्दै उनीहरुलाई धरौटीमा छाड्नु दुःखद भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

उनीहरूविरुद्ध चितवन जिल्ला अदालतमा निकुञ्जले गएको फागुन १८ मा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि फागुन २५ मा थुनछेक आदेश हुँदा नै नाङ्गे तामाङ लामा र योन्देन ग्याम्जो जनही पाँच लाख रुपैयाँ धरौटीमा छुटे ।

यी आधारहरू देखाएर चितवन जिल्ला अदालतले गरेको उक्तआदेश परिवर्तन गर्नुपर्ने बेरीतको नदेखिएको उच्च अदालत पाटनको हेटौंडा इजलासले असार २४ मा गरेको आदेशमा उल्लेख छ । मुद्दामा निकुञ्जले गोली हान्ने आरोपीलाई चितवन अदालतले पुर्पक्षका लागि थुनामा पठायो, उच्च अदालतले सदर ग¥यो ।

खाग काठमाडौं पु¥याएर बेचबिखन गर्ने आरोपीलाई चितवन अदालतले थुनामा त पठायो तर उच्च अदालतले धरौटीमा छाड्ने निर्णय सुनायो । काठमाडौं बसेर खाग कारोबार गर्ने आरोप लागेकाहरू चितवन जिल्ला अदालतबाटै धरौटीमा छुटे, उच्च अदालतले पनि त्यसैलाई सदर ग¥यो ।

(भिडियो)

प्रतिक्रिया दिनुहोस्

LIVE TV