१२ श्रावण २०७८, मंगलवार
  • तारा आचार्य,

विराटनगर । लामो समयपछि प्रदेश नम्बर १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल थाल्नु भएको छ । प्रदेश नम्बर १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श थाल्नु भएको हो ।

चालू अधिवेशनबाटै प्रदेशको नाम राख्नका लागि मुख्यमन्त्री राईले पहलकदमी थाल्नु भएको हो । २०७६ वैशाख २३ गते प्रदेश १ को राजधानी घोषणा गर्दा नामको विषयमा सहमति जुट्न नसकेपछि त्यतिकै छोडिएको थियो ।

प्रदेशको नामको विषय यतिवेला सार्वजनिक तथा राजनीतिक बहसको उत्कर्षमा पुगेको छ । प्रदेश सरकार गठन भएको ३ वर्ष वितिसक्दा पनि प्रदेश १ को नाम जुर्न सकेको छैन ।

प्रदेश १ को नामको लागि किरात प्रदेश, कोशी प्रदेश, कोशी–सगरमाथा, सगरमाथा–किरात, कोशी–किरात, लिम्बुवान–खुम्बुवान, कोशी–लिम्बुवान, विराट र विजयपुर चर्चामा आएका छन् । कतिपय नेताहरुले प्रदेशको नामाकरण गर्दा पहिचानको विषय जोडिनु पर्ने धारणा राखेका छन् ।

मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमति गरेर अगाडि बढ्नु पर्ने भन्दै छलफललाई तीब्रता दिनु भएको छ । प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छलफल गर्नु भएको हो ।

छलफलका क्रममा दलका नेताहरुले आ–आफ्नो पार्टीभित्र समान धारणा बनाएर अगाडि बढाउने बताउनु भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV