१२ श्रावण २०७८, मंगलवार
  • धिरज दाहाल,

विराटनगर । नेपाल सरकारले चीनबाट खरिद गरेर ल्याएको खोप प्रदेश १ को राजधानी विराटनगरसहित मोरङका स्थानीय तहहरुले सोमबारदेखि लगाउन थालेका छन । कोभिड–१९ विरुद्धको भेरोसेल खोप आएसँगै खोप केन्द्रहरुमा ५५ वर्ष माथिका उमेर समूहका ब्यक्तिहरुको भीड नै लागेको छ ।

खोप केन्द्रहरुको ब्यवस्थापन चुस्त नहुदा कोरोना जोखिम झनै बढ्न सक्ने भन्दै खोप केन्द्र पुगेका स्थानीयले चिन्ता ब्यक्त गरेका छन् । केन्द्रहरुमा खोप सेवा लिन पुगेकाहरुको ब्यवस्थापन अब्यवस्थित देखिएको छ ।

विराटनगरको वीरेन्द्र सभागृह र कोशी अस्पतालमा भेरोसेल खोप लगाउने कार्य सुरु भएको छ । खोप लगाउन पुगेका सर्वसाधरणहरुको लाइन समेत ब्यवस्थापन गरिएको छैन । अब्यवस्थित खोप केन्द्रहरुमा खोप लगाउनेहरुको घुँइचो सबेरैदेखि देखिएको छ ।

उता खोप लगाउनेहरुको लाइन समेत व्यवस्थित नगर्दा कोरोना संक्रमण बढ्ने जोखिम समेत देखिएको छ । विराटनगर महानगरपालिकाको खोप समन्वय समितिको आइतबार बसेको बैठकले महानगरपालिकाको तीन वटा स्थानमा खोप केन्द्र निर्धारण गरेको भएपनि जिल्ला प्रशासन कार्यालय मोरङले परिवार नियोजन संघमा राखिएको खोप केन्द्र तत्काल सञ्चालन नगर्न भन्दै रोकिदिएको छ ।

संघमा बालबालिकाहरुका लागि नियमित खोप लगाउने कार्य जारी रहेकाले त्यसमा असर पुग्ने भन्दै कोरोना खोप केन्द्र सञ्चालनमा रोक लगाएको हो । महानगरपालिकाको यति ठूलो जनघनत्वका बीच २ वटा मात्र खोप केन्द्र सञ्चालन गरेकाले पनि भीड बढेको स्थानीयले बताएका छन् ।

उता महानगरका स्थानीय वडा कार्यालयहरुमा पनि आजबाट खोप वितरण थालिएको छ । तर, वडा कार्यालयहरुमा पनि वितरण कार्य सहज र ब्यवस्थित हुन नसकेको छैन । वडा कार्यालयका कर्मचारीहरुले खोप केन्द्र पुगेका स्थानीयको नागरिकतामा उल्लेख उमेरका आधारमा सहजीकरण गरिरहेका छन् ।

तर, जनप्रतिनिधिहरुलाई भनसुनका लागि आउने अन्य उमेर समूहका मानिसहरुका कारण समेत खोप केन्द्रमा भीड बढेको देखिएको छ । प्रदेश १ का लागि सरकारले १ लाख ६९ हजार डोज भेरोसेल र ९२ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप उपलब्ध गराएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV