११ श्रावण २०७८, सोमबार

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) कर्मचारी संघले नेपाल ओलम्पिक कमिटीले एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्लमाथि ठूलो अन्याय र अपमान गरेको जनाएको छ । सोमबार संघका अध्यक्ष रञ्जन थापाद्धारा जारी प्रेस विज्ञप्तिमार्फत् मत्रराष्ट्र जापानको टोकियो सहरमा आयोजना भएको ओलम्पिक खेलमा प्रशिक्षक मल्ललाई अन्तिम अवस्थामा सहभागिता हुनबाट बञ्चित गरिनु अन्याय र अपमान भएको भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘२२ औं गृष्मकालिन ओलम्पिक खेलमा एथलेटिक्स खेलको प्रशिक्षकको भूमिकामा छनौट भएकी एथलेटिक्स प्रशिक्षक इन्द्रा मल्ललाई अन्तिम समयमा सहभागिता हुनबाट बन्चित गरी नेपाल ओलम्पिक कमिटीले ठूलो अन्याय र अपमान गरेको छ ।’ जापानको टोकियोमा जुलाई २३ देखि ८ अगस्ट सम्म ओलम्पिक आयोजना हुन गइरहेको छ ।

प्रशिक्षक सहभागिताका क्रममा नेपाल एथलेटिक्स संघले सर्वप्रथम मुख्य प्रशिक्षक चन्द्र बहादुर गुरुङलाई पुष २७ गते प्रशिक्षकमा रुपमा सिफारिस गरेको थियो । २ दुई पटकसम्म प्रशिक्षकमा संघले सिफारिस गरे पनि कोभिडको खोप नलगाएको भनेर ओलम्पिक कमिटीले प्रशिक्षकमा सहभागिता गराउन नसकिने भनि जवाफ दिएको थियो ।

त्यसपपछि एथलेटिक्स संघले पोखरामा कार्यरत परिषदका एथलेटिक्स प्रशिक्षक मल्ललाई प्रशिक्षकको गुरुङको स्थानमा प्रशिक्षकका रुपमा छनोट गरी जिम्मेवारी दिएको थियो । र, मल्ले नियमित प्रशिक्षणमा सहभागी भएर कार्य गरिरहेको, खेलाडीसँगै क्याम्पमा बसेको र ओलम्पिकमा सहभागी हुनुअघि टिमलाई राष्ट्रपतिले नै विदाइ गरेका थिए ।

जुलाइ १७ मा ओलम्पिक कमिटीको कार्यालयमा कोभिड परीक्षणका लागि बोलाइयो र प्रशिक्षक मल्लको कोभिड परीक्षणपश्चात् पोजेटिभ देखिएको भनेर मल्लको सट्टामा सन्तोष श्रेष्ठलाई प्रशिक्षकको रुपमा सहभागी गरिएको थियो ।

जुन सरासर कमिटीको षड्यन्त्र रहेको संघको आरोप छ । रिपोर्टमा प्रशिक्षक मल्लको सिटी भ्यालु ३२÷३३ देखिन्छ जुन भ्यालु नेगेटिभ नै रहेको संघको दाबी छ । र, प्रशिक्षक मल्ललाई थाहै नदिइ एक्कासी कोरोना लागेकाले बञ्चित गरिएको भनेर अपराधीजस्तो गरेर पत्रकार सम्मेलन गरिनु कमिटीको षड्यन्त्र रहेको संघको आरोप छ ।

संघले विज्ञप्तिमार्फत भनेको छ, ‘अपराधीजस्तो गरेर पत्रकार सम्मेलन गरिनु कमिटीको षड्यन्त्र देखिन्छ र उनको ठाउमा कोभिडको बाहान देखाएर आफ्नो आसेपासे र चाकडी गर्नेलाई लाने नियत हो ।’

पछि प्रशिक्षक मल्ललाई कोरोना भएको हो होइन भनेर पुनः स्वास्थ्य जाँच गर्दा रिपोर्टमा बदमासी भएको भेटिएको संघले जनाएको छ । ‘त्यस्को भोलिपल्ट स्टार हस्पिटलमा आपैmँ गएर टेष्ट गराउदा रिपोर्ट नेगेटिभ आएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसपछि पनि उनले लगभग ४÷५ वटा हस्पिटलमा टेष्ट गराउँदा सबै ठाउमा नेगेटिभ रिपोर्ट आएको देखिन्छ, सोही रिपोर्टहरु नेपाल ओलम्पिक कमिटिमा दिदा अहिले नेपाल ओलम्पिक कमिटीले कुरै सुन्न चाहेन, रिपोर्ट लिन चाहेन । अब तपाईलाई लान सकिदैन भन्ने जस्ता गैरजिम्मेवारी उत्तर दिएर पन्छियो ।’

यस्तो खालको आसेपासेलाई मात्र स्थान दिनु नेपाली खेल जगत, खेलाडी र खेल प्रशिक्षक माथि भएको अन्याय, अत्याचारी व्यवहार भएको भन्दै संघे त्यसको घोर भत्सर्ना गरेको छ । साथै, संघले नेपाल ओलम्पिक कमिटीमाथि छानविन गरी कारबाहीको भागिदार बनाउनुु पर्ने माग गरेको छ ।

अर्कोतर्फ कोभिड महामारीले देशलाई ग्रसित बनाइको अवस्थामा टोकियो ओलम्पिकमा जम्मा ५ जना खेलाडी सहभागी हुँदा २६ जनाको टोली लिएर विदेश घुम्न जानु उचित नभएको संघले कडा विरोध गरेको छ । नियमभन्दा बाहिर गएर मनपरी ढंगले कमिटीले खेल क्षेत्रतर्फ भन्दा पनि विदेशमा रमाईलो गर्न लगिएको प्रति संघले घोर भत्सर्ना गरेको छ ।

साथै, खेलाडी, खेलकर्मी र कर्मचारीहरुमा भएको यस्तो ज्यादतीविरुद्ध संघले जोडदार रुपमा आवाज उठाउँदै अन्याय र अत्याचारको विरोध गरेको छ । र, पीडित कर्मचारी माथि न्याय होस् भनि परिषद्को नेतृत्व सँगले न्यायको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV