१० श्रावण २०७८, आईतवार

झापा । झापाको मेचीनगर नगरपालिकामा दातृ संस्थाको सहयोगबाट निर्माण सम्पन्न काँकरभिट्टा हेल्थ डेस्कको प्रमुख अतिथिमा कुरो नमिल्दा उद्घाटन कार्यक्रम स्थगित भएको छ ।

समुद्घाटन कार्यक्रममा प्रमुख अतिथीको बिषयमा आयोजक र नगरपालिका बिच कुरो नमिल्दा मेचीनगर ६ स्थित काँकरभिट्टा हेल्थ डेस्क उद्घाटन कार्यक्रम सुरु नहुदै सकिएको काँकरभिट्टा हेल्थ डेस्क निर्माण उपभोक्ता समितिका अध्यक्ष निरबहादुर कार्की (नेत्र)ले बताए ।

आयोजक समितिले उद्घाटन स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोेख्रेलबाट गर्ने निर्माण उपभोक्ता समितिले निर्णय गरेको थियो । स्वास्थ्य सचिव उपस्थित हुन नसक्दा इपिडिमियोलोजी तथा महामारी रोग व्यवस्थापन शाखा प्रमुख डा अमृत पोख्रेलबाट गरिने तय गरेको थियो ।

यता मेचीनगर प्रमुख विमल आचार्य तथा उपप्रमुख मीना पोखरेल उप्रेतीलाई विशिष्ट अतिथिको रुपमा बोलाएको थियो ।

तर, प्रमुख अतिथि र विशेष अतिथिमा ओहोेदाक्रम नमिल्नेकारण देखाइ नगर प्रमुख विमल आचार्य तथा उपप्रमुख मीना पोखरेल उप्रेती उपस्थित हुन नमानेको आयोजकले जनाएको छ ।

सरकारले निर्धारण गरेको मर्यादाक्रमअनुसार नगरपालिकाका मेयर १५ औं, उपमेयर १६ औं र प्रमुख अतिथि बनाइएका उपसचिव तहका कर्मचारी १८ नम्बरमा पर्छन् ।

विश्व स्वास्थ्य संगठनको ५० लाख रुपैयाँ सहयोगमा स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा महामारी रोग व्यवस्थापन शाखाले कोरोना संक्रमण नियन्त्रणका लागि पूर्वी नाकामा दुईवटा हेल्थ डेस्क निर्माण गरेको हो ।

नवनिर्मित हेल्थ डेस्कबाट स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भारतबाट आउने यात्रीलाई सेवा दिने बताइएको छ ।

शनिबार बिहान जहाजबाट झापा आएका प्रमुख अतिथि डा पोख्रेल विवादका कारण जनप्रतिनिधिले कार्यक्रम बहिष्कार गरेको थाहा पाएपछि उनी कार्यक्रममा सहभागी नबनी काठमाडौं फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV