९ श्रावण २०७८, शनिबार
  • लक्ष्मी पाण्डे,

बारा । बजेट सिध्याउन विकृत खेल असारमा हुन्छ । यो देशमा वर्षौदेखि रहेको यो विकृति हटाउन भने कुनै पनि सरकारले सकेको छैन । बजेट जसरी भएपनि सक्ने असारे चटारोल न विकास निर्माणका काम दिगो हुन सकेका छन नत प्रभावकारी नै ।

सच्याउन नसक्ने यो गल्ती बारम्बार दोहोरिदा बाराको निजगढ भ्यू टावरले पनि त्यही नियति भोग्नु परेको छ । बाराको निजगढ नगरपालिकाको असारे कामको असर अहिले निजगढ भ्यू टावर क्षेत्रमा पनि परेको छ । वडा नं. ४ बागदेव स्थित निजगढ भ्यू टावर पहिरोको उच्च जोखिममा परेसंगै निजगढ नगरपालिकाको १० लाख लागतमा पहिरो रोकथामका लागि लगाईएको पर्खाल भत्किएको छ ।

प्राविधिक र निर्माण समितिको मिलेमत्तोमा छिटो काम सक्ने र असारे भुक्तानी लिने हतारोका कारण यसको असर देखिएको हो । यसरी सिमेन्ट प्रयोग गरि निर्माण गरिएका पर्खाल वा अन्य संरचनाहरु गर्मीयाम बाहेक अन्य समयमा कम्तीमा चार हप्ता सेट हुन समय दिनु पर्ने हुन्छ । तर , सो समयावधि पूरा नहुदै स्काभेटरको प्रयोगले चुरेको डाडा नैं काटेर हतार हतार माटो भरेसंगै अत्याधिक भारका कारण पर्खाल भत्किएको हो ।

यसरी सामान्य निर्माण सुरक्षाको मापदण्ड समेत शहीद हिरालाल पार्क विकास समितिले पूरा गरेको देखिदैन् । एकातिर निर्माण समितिले प्राविधिकलाई पटक÷पटक अनुगमन गर्न आउन आग्रह गर्दा पनि समयमै नआउने गर्दा काममा समस्या भएको बताएको छ ।

यता प्राविधिकहरु भने, काम कति खेर शुरु गर्छन त्यस्को कुनै जानकारी दिन गरेको पाइदैन । प्राविधिकले तयार पारेर दिएको लागत ईष्टिमेट अनुसार काम र सुझाव नमान्दा यस्तो समस्या आएको निजगढ नगरपालिकाका इञ्जिनियर रुपेश यादवको तर्क छ ।

गत वर्षपनि यसरी नै पहिरो रोकथामका लागि निर्माण गरिएको पर्खाल भत्किएको थियो । चार वर्ष अघि करिब ५६ लाखको लागतमा नगर विकास कोषको लगानीमा निजगढ भ्यू टावर निर्माण सम्पन्न गरेको हो ।

यस वर्ष सो पार्कमा थप कार्य गर्नका साथै सौन्दर्यीकरण गर्न संघीय सरकारबाट ५५ लाख, प्रदेश सरकारबाट ५ लाख र निजगढ नगरपालिकाबाट १० लाख गरि कूल ७० लाख रकम प्राप्त भएको छ । अहिले सम्म १ करोड भन्दा बढी रकम खर्च भएपनि पार्कले खासै समयमै गति लिन सकेको छैन् ।

बजेट सक्न गरिएको यो हर्कतको भने छानविन गरिनु पर्ने माग स्थानीयले उठाएका छन् । अनुगमन पनि नहुने अनि कारवाही पनि नहुँदा देशभर असारे कामको असर नकारात्मक हुने गरेपनि उही नियति हरेक बर्ष दोहोरिदो छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV