९ श्रावण २०७८, शनिबार

काठमाडौं । नेपाली कांग्रेसले साउन १२ गते हुने भनिएको वडा तहको अधिवेशन स्थगित गरेको छ । शनिबार प्रधानमन्त्री शेर बहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले समय अभाव र कोरोना संक्रमणका कारण पूर्वनिर्धारित वडा तहको अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

केन्द्रीय महाधिवेशनको मिति नसर्ने गरी वडा तहको अधिवेशनलाई स्थगन गर्ने सहमति भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले साउन १२ गते बिहान ९ बजे क्रियाशील सदस्यता छानविन समितिले प्रतिवेदन हस्तान्तरण गर्ने र त्यसपछि मात्रै वडा तहको मिति तय गर्ने बताए ।

त्यस्तै, अधिकांश क्रियाशील सदस्यता विवाद समाधान भइसकेको र केही स्थानको टुंगिन बाँकी रहेको र प्रतिवेदन हस्तान्तरण गर्नुपूर्व सबै स्थानको क्रियाशील विवाद समाधान हुने उनको दाबी छ ।

बैठकमा पार्टी सभापति देउवाले क्रियाशील सदस्यता विवाद छिटो टुङ्ग्याउन निर्देशन दिएका उनले बताए । प्रवक्ता शर्माले आगामी भदौमा तोकिएको पार्टीको केन्द्रीय महाधिवेशन हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV