९ श्रावण २०७८, शनिबार

काठमाडौं । शुक्रबार गण्डकी प्रदेशमा नवनियुक्त छ जना मन्त्रीहरुले सपथ लिए । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको नयाँ गठबन्धनको सरकारले ४२ औँ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिलाउन सफल भयो ।

शुक्रबार पूर्णता पाएको गण्डकी प्रदेशमा ६ मन्त्री र यसअघि ४ मन्त्री नियुक्त भइसकेका छन् । अब गण्डकी प्रदेशमा १० मन्त्रालय भएका छन् । सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र एक स्वतन्त्र सांसद सहभागी छन् ।

मन्त्रिपरिषद्मा अहिले दुई मन्त्री छन्, जस्को विगतका दिन हेर्दा अचम्म लाग्छ । स्वतन्त्र सांसदबाट युवा तथा खेलकूद मन्त्री बनेका राजिव गुरुङ (दीपक मनाङे) र इन्सपेक्टरलाई थर्काउने नेपाली कांग्रेसबाट शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री बनेका मेखलाल श्रेष्ठ ।

खेलकूद मन्त्री दीपक मनाङे सबैका लागि परिचित नाम हो । अघिल्लोपटक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वको सरकारमा पनि खेलकूद मन्त्री नै बनेका उनी अहिले त्यहीँ मन्त्रालयको कमाण्ड सम्हालेका छन् । भौतिक मन्त्रालय नपाए मुख्यमन्त्री नै बन्छु भनेका उनी अन्ततः खेलकूद मन्त्रीमै चित्त बुझाए ।

प्रदेशको खेलकूद क्षेत्र विश्वस्तरमा चिनाउने भनेका उनले अब कसरी मन्त्रालयको कमाण्ड सम्हाल्छन् हेर्न बाँकी छ ।

गण्डकी प्रदेशमा समानुपातिक सांसदबाट मन्त्री बनेका मेखलाल श्रेष्ठको भने अहिले सर्वत्र चर्चा छ । कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्रीको सपथ खानुअघि भएको धर्ना प्रदर्शनमा श्रेष्ठले इन्सपेक्टर बर्दी लगाएर ड्युटीमा खटिएका श्याम थापा मगरलाई ‘हिसाबकिताब हुन्छ’ भन्दै बेस्सरी थर्काएका थिए ।

श्रेष्ठले ‘हिसाबकिताब हुन्छ’ भन्दै थर्काएपछि इन्स्पेक्टर थापाले पनि ‘हुन्छ हुन्छ, श्याम थापा मगर है, बैदाममा कार्यरत छु’ भनेर जवाफ फर्काएका थिए ।

त्यसपछि अझ आक्रोशित बन्दै श्रेष्ठले फेरि इन्सपेक्टर थापालाई थर्काउछन्, ‘फुर्ती नछाटम्।’

‘फुर्ती छाटेको होइन सर, तपाईंले हिसाबकिताब भन्नुभयो नि । श्याम थापा मगर है’ भन्दै श्रेष्ठलाई जवाफ फर्काउछन् ।

धर्ना प्रर्दशनका क्रममा भएको उक्त दोहोरो विवादको भिडियो खुबै भाइरल भएको थियो । इन्सपेक्टरलाई थर्काएको दुई महिना नबित्दै श्रेष्ठ मन्त्री बनेका छन् ।

अहिले उनीसँग शक्ति छ । विवादका क्रममा ‘हिसाबकिताब हुन्छ’ भनेका मन्त्री श्रेष्ठले पोखराको बैदाममा कार्यरत इन्स्पेक्टर थापामाथि बद्ला लिने नै हो ?

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया दिनुहोस्

LIVE TV