८ श्रावण २०७८, शुक्रबार

काठमाडौं । कहाँ छैन लाइन ? सबभन्दा विचित्रको लाइन त शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पुग्दा देखिन्छ । वैदेशिक रोजगारी जान चाहनेहरुका लागि रोजगारदाता मुलुकहरुले कोरोनाविरुद्धको खोप अनिवार्य लगाएको हुनु पर्ने प्रावधान राखेपछि टेकुमा देशभरका युवाहरुको ताँती नै लाग्यो ।

लाइन लागेर ठूलो सास्ती पछि खोप पाएकाहरुका लागि फेरि अर्को सास्ती थपियो, क्यूआर कोडसहितको खोप प्रमाणपत्र भएकालाई मात्र रोजगारीको अनुमति दिइने । साउदी अरेबिया र कतारले क्युआर कोड अनिर्वाय गरेपछि त्यही कोड लिन फेरि थपियो भीड टेकुमा । क्युआर कोड नलिएकाहरुले कतार प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान छ ।

र, यसरी क्वारेन्टाइनमा बस्दा ३ हजार २ सय रियालसम्म तिर्नु पर्छ । जस्को नेपाल अनुमानित एक लाख खर्च हुन सक्छ । कमाउँन जाँदा पहिला नै गुमाउनु पर्ने अवस्था आएपछि वैदेशिक रोजगारीमा जान चाहने मजदूर तथा श्रमिकहरु लाइनमा लाग्नु नै उचित ठाने ।

तर लाइनको सास्ती देख्नेहरुले कोरोनाको लागि उर्वर अवसर मात्र देखेनन कुन हदसम्मको सास्ती नेपाली जनताले पाइलापाइलामा भोग्नु पर्छ भन्ने समेत छर्लङ्ग भयो । देश संघीयतामा गएर यही संघीयता संस्थागत हुने प्रयासमा छ ।

तर एउटा खोप हान्नका लागि जुम्लादेखि ताप्लेजुङसम्मका र सप्तरीदेखि कञ्चनपुरसम्मका युवाहरुले काठमाडौं नै आउनु पर्दा संघीयताको अर्थ र मर्मले पनि खोप पाइने आशामा राति १२ बजेदेखि नै लाइन बस्नेहरुलाई भतभती पोलेको हुनुपर्छ ।

यति मात्र होइन – एक डोज मात्र लगाउँदा हुने अमेरिकी कम्पनी जोन्सन एण्ड जोन्सन कम्पनीले उत्पादन गरेको जानसेन खोप लगाएका उनीहरुलाई क्युआरकोडको व्यवस्था नेपालमा नभएपनि रोजगारदाता मुलुकहरुले स्वीकार्ने गरि एउटा लिखित प्रमाण उपलब्ध गराइएको छ ।

जस्को प्रतिव्यक्ति ३ सय रुपैयाँ लिइएको छ । हजारौले लिए यो प्रमाण पनि जसबापत करोडौं राजश्व सरकारको ढुकुटीमा जम्मा भएको छ । उपहार स्वरुप पाएको खोप लगाएको निशानीका लागि रोजगारी खोज्दै भौतारिरहेका युवाहरुले भने यहाँ पनि रकम नै तिर्नु पर्यो ।

संघीयताको मर्ममाथि संघीय सरकारको उपहास

कोरोना कालमा पनि नेपाली युवाहरुलाई सुख छैन । गाउँघरमा उपाय नदेखेपछि उनीहरुको गन्तव्य खाडी नै हो । तर यो कोरोना महामारीमा खाडी मुलुक जान पनि कहाँ सहज छ र ? रोजगार दाता मुलुकले कोरोनाविरुद्धको खोप अनिवार्य गरेपछि खोप लगाउन देशभरका युवाहरु काठमाडौं धुइरिए ।

कोरोनाविरुद्ध खोप किन्न जुर्मराईरहेका स्थानीय तह र प्रदेश सरकारहरुको प्रयासको अपमान गर्दै संघीय सरकारले वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई खोप लगाउन काठमाडौंमा नै बोलायो । र, दियो अमेरिकाबाट उपहार स्वरुप आएको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप ।

जोन्सन एण्ड जोन्सनको बारेमा निकै टिकाटिप्पणी भइरहेपनि दायाँवायाँ नसुनी लगाए युवाहरुले खोप पनि । तर उनीहरुलाई आआफ्नै प्रदेश या पायक पर्ने स्थानीय तहमा खोपको व्यवस्था गरिदिएको भए यो सास्ती त भोग्नु नपर्ने थियो ।

टेकुमा लाग्यो रातारात लाइन

खोप पाउने आशामा राति १२ बजेदेखि नै युवाहरुको भीड लागेको थियो टेकु अस्पतालमा । देशभरका युवाहरु खोप पाउने आशामा लाइनमा लाग्दा टेकु अस्तपाल अस्तव्यस्त बनेको थियो भने प्रहरीलाई लाइन अनुशासन कायम गराउन धौ धौ परेको थियो ।

रोजगारदाता मुलुकहरुले गरे कोरोनाविरुद्धको खोप अनिवार्य

रोजगारदाता प्रमुख गन्तव्य मुलुकहरुले खोपको व्यवस्था गरिएको देशबाट मात्रै कामदार मगाउने नीति लिएपछि सरकारले जोन्सन एन्ड जोन्सन कम्पनीले उत्पादन गरेको जानसेन खोप वैदेशिक रोजगारीमा जान चाहने कामदारहरुलाई उपलब्ध गराएको थियो ।

खोप लगाएको १४ दिनपछि विदेश जान पाइने अधिकारीहरुले बताएका छन् ।
त्यस्तमाथि खाडीका देशहरूले क्यूआर कोडसहितको खोप प्रमाणपत्र भएकालाई मात्रै मान्यता दिने नीति लिएपछि कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि पनि टेकुमा अनियन्त्रित भीड लाग्न पुग्यो ।

खोप लगाएको निशानी कार्डको ३ सय रुपैयाँ

स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखाले हाल जारी गरिएको खोप सम्बन्धी कार्डमा क्यूआर कोड प्रणाली नराखेपछि रोजगारदाता मुलुकहरुलाई विश्वास दिलाउने गरि अर्को कार्ड उपलब्ध गराएको छ । जुन कार्डको प्रतिव्यक्ति ३ सय रुपैयाँ कामदारबाट लिइएपछि यो कार्यको पनि तीब्र आलोचना भएको छ ।

नेपालीहरुको रोजगारीका लागि खाडीका प्रमुख गन्तव्य मुलुक कतार र साउदी अरेबियाले आफ्नो देशमा आउने कामदारलाई कोरोनाविरुद्धको खोप अनिवार्य गर्ने नीति लिए पछि अहिले यो अन्य रोजगारदाता मुलुकमा पनि लागू भएको छ । कतारमा खोप नलगाई जानेले झण्डै नेपाली एक लाख रुपैयाँ तिरेर १४ दिन क्वारेन्टाइनमा विताउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV