६ श्रावण २०७८, बुधबार

काठमाडौं । जस्तो संस्कार दिइन्छ, सिक्ने त्यस्तै हो । नेकपा एमालेभित्र अहिले देखिएको चित्र र चरित्र नेपाली राजनीतिमा विरलै देखिने गरिन्छ । आफ्नै नेताको पुत्ला दहन गर्नु र बाँदरको भेष बनाएर बाँदर नै बनेर विरोध प्रदर्शन गर्नु जस्ता चरित्र एमाले भित्रै हुर्किएको संस्कारको उपज हो ।

हुनत विभाजित बनेपछि या मन नमिलेर छुटेपछि संसार भरका कम्युनिष्टहरुले देखाउँने संस्कार लगभग उस्तै हुन्छन । माक्र्स र माओको मेनिफेष्टोमा समेत नभएका शब्दहरु आकेलेर एक अर्काप्रति विषवमन गर्ने कम्युनिष्टको परम्परागत शैली र चिनारी नै हो ।

शेरबहादुर देउवाका सत्तारोहणपछि माधवकुमार नेपाल एमालेका कार्यकर्ताहरुको हातबाट धेरै पटक पुत्ला बनेर जलिसकेका छन् । नेकपा एमालेलाई लामो समय हाँकेका र एमालेबाट नै प्रधानमन्त्री समेत बनिसकेका नेपाल अहिले एमाले भित्रै सबैभन्दा बढी आलोचित नेता बनेका छन् ।

विशेषत केपी शर्मा ओली पक्षीय कार्यकर्ताको निशानामा छन् उनी । ओली पक्षको निष्कर्षमा नेपाल एमालेका लागि ‘लाल गद्दार’ हुन । जस्ले ओलीको हुँदाखाँदाको सत्ता खोसिदिएको छ ।

प्रधानमन्त्री पद गुमेपछि वालुवाटार छोडेर निजी निवास बालकोट पुग्दा मात्र नभइ त्यसपछिका धेरै बैठक र भेलामा निवर्तमान प्रधानमन्त्री ओलीले नेपाललाई शब्दकोषमा भद्दा र घिनलाग्दो भनेर राखिएका सबै शब्दहरुको प्रयोग गरेर होच्याउने प्रयास गरे । जसको अनुशरण अहिले उनका कार्यकर्ताहरुले हरेक दिन सडक र सभाहरुमा गरिरहेका छ्न ।

हुनत एमाले अहिले इतिहासमा नै संकटपूर्ण अवस्थाबीच गुज्रिरहेको छ । महाकाली सन्धी तत्कालीन संसदबाट अनुमोदन भएपछि २०५४ साल चैत ३० गते एमाले विभाजित भएयता अहिले उस्को अवस्था सकसपूर्ण छ ।

हुँदाखाँदाको दुई तिहाई मात्र होइन धेरे थोक गुमाएर एमाले सत्ताच्यूत भएको छ । तर राजनीतिक विश्लेषकहरु यस्मा नेपाललाई मात्र दोष दिन नहुने मान्यता राख्छन् । यस्मा ओलीको उपद्रो र अहंकारले उत्तिकै भुमिका खेलेको उनीहरुको तर्क छ । नेपाललाई मात्र दोष दिदा इतिहास सही नलेखिने र उनीमाथि अन्याय हुने टिप्पणी उनीहरुको छ ।

गत सोमबार ललितपुरको बालकुमारी पुल नजिकै हनुमन्ते खोला किनारमा युवासंघले नेता नेपालको पुतला जलाएका थिए । यसैगरी मंगलबार नेपालको गृहनगर रौतहटमा पनि उनको पुत्ला दहन गरियो ।

यसअघि काठमाडौंमा नै मंगलबार ओली निकट युवा संघ नेपालले नेपालहरुमा बाँदरे प्रवृति देखिएको भन्दै बाँदर जुलुस नै निकाल्यो । कुनै समय उनै नेपाल त्यही युवाहरुको पंक्तिमा लोकप्रिय थिए तर आज उनैलाई ‘लालगद्दार’ भन्दै उनको उछितो काँडदा एमाले भित्र हुर्किदो विसर्जनवादले यो दललाई कहाँ पुर्याउने हो ? प्रश्न गम्भीर छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV